कञ्चनपुर । महेन्द्रनगरमा सम्पन्न ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणमा मदन शाह जिल्लाकै तीव्र गतिको बलर घोषित भएका छन्। महेन्द्रनगरस्थित कभर्ड हलमा भएको प्रतिस्पर्धामा शाहले १२४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै सबैलाई उछिनेका हुन्।

नेपालकै सबैभन्दा तीव्र गतिको बलर खोजी गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा कञ्चनपुरका ११२ जना युवा बलरहरूले उत्साहजनक सहभागिता जनाएका थिए। वर्ल्ड लिङ्क महेन्द्रनगर शाखाका प्रमुख राज भट्टका अनुसार सहभागी खेलाडीहरूको बलिङ गति अत्याधुनिक ‘स्पीड गन’ प्रविधिमार्फत मापन गरिएको थियो।

कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयु लियोनार्ड समेत महेन्द्रनगर पुग्नुभएको थियो। विश्वभरका क्रिकेट प्रतियोगिताहरूमा आफ्नो आवाजमार्फत चर्चा बटुल्नुभएका लियोनार्डको उपस्थितिले स्थानीय खेलाडीहरूमा थप ऊर्जा र उत्साह थपेको छ।

वर्ल्ड लिङ्क महेन्द्रनगरका शाखा प्रमुख राज भट्टले स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्न यो प्रतियोगिता सफल भएको बताउनुभयो। ११२ जना बलरहरूबीच भएको यो कडा प्रतिस्पर्धाले सुदूरपश्चिममा क्रिकेटको क्रेज र क्षमता कति छ भन्ने पुनः पुष्टि गरेको उहाँको भनाइ रहेको छ।













Discussion about this post