कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा आगामी चैत २० गते अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी आयोजना हुने भएको छ। प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको आयोजना र दोधारा चाँदनी नगरपालिकाको प्रवर्द्धनमा उक्त ऐतिहासिक साहित्यिक कार्यक्रम हुन लागेको हो।
सङ्गोष्ठीको उद्घाटन नेपाल सरकारका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम तय भएको छ भने पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल विशेष अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। चैत २० गते बिहान ११ बजेदेखि दोधारा चाँदनी नगरपालिकाको सभाकक्षमा सञ्चालन हुने यस सङ्गोष्ठीले सुदूरपश्चिम क्षेत्रको साहित्य, कला तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रलेस कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीका अनुसार सङ्गोष्ठीमा नेपालका सातवटै प्रदेशका साथै भारत र चीनका गरी करिब डेढ सय कवि तथा साहित्यकारहरूको सहभागिता रहनेछ। कार्यक्रममा भारत र चीनबाट करिब दुई दर्जन साहित्यकारहरू उपस्थित हुनेछन्। सङ्गोष्ठीमा नेपाल र भारतका साहित्यकारहरूका तर्फबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनुका साथै विशेष काव्य प्रस्तुति समेत रहने अध्यक्ष नेगीले बताउनुभएको छ।
यस अन्तर्राष्ट्रिय गोष्ठीले नेपाल, भारत र चीनबीचको साहित्यिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै तीनवटै देशका जनताबिचको सम्बन्ध सुमधुर पार्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ। गोष्ठी सम्पन्न भएपश्चात प्रलेसको राष्ट्रिय परिषद् बैठक महेन्द्रनगरमा आयोजना गरिनेछ।
अन्तर्राष्ट्रिय सङ्गोष्ठीलाई भव्य रूपमा सफल पार्न प्रलेस सुदूरपश्चिम प्रदेश समिति, कञ्चनपुर जिल्ला समिति लगायतका विभिन्न उपसमिति र सम्बद्ध व्यक्तिहरू तीव्र तयारीमा जुटेका छन्। स्थानीयस्तरमा अन्तर्राष्ट्रिय स्तरको यस्तो कार्यक्रम हुनुले सुदूरपश्चिमको प्राज्ञिक गरिमा बढ्ने विश्वास गरिएको छ। दोधारा चाँदनी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिन लागिएको हो।










Discussion about this post