कञ्चनपुर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं र तिहार जस्ता प्रमुख चाडपर्वको अवसरमा पनि शिक्षकहरूलाई तलब निकासा नगरेको भन्दै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई कडा चेतावनी दिएका छन्।
उनले आफ्नो आधिकारिक फेसबुकमार्फत एक सूचना जारी गर्दै तलब निकासा नदिने प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिने बताएका छन्।
मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, “दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाई सकेको छ।”
उनले थप भनेका छन्, “भोली सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिनेछ।”
मन्त्रीको यो अल्टिमेटमले चाडपर्वको मुखमा तलब नपाएर समस्यामा परेका शिक्षकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। शिक्षा मन्त्रालयले शिक्षकहरूको तलब भुक्तानीका लागि आवश्यक रकम सम्बन्धित विद्यालयहरूको खातामा पठाइसकेको स्पष्ट पार्दै मन्त्री पुनले यस विषयमा कुनै पनि बहानाबाजी स्वीकार्य नहुने संकेत दिएका छन्।
उनले तोकिएको समयभित्र तलब निकासा नभए प्रधानाध्यापकहरू सिधै कारवाहीको भागीदार हुने प्रस्ट पारेका छन्।










Discussion about this post