काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण बेनीघाटदेखि मुग्लिङसम्म उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको छ। नदीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले त्रिशूली नदीको बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको जनाइएको छ।

त्यस्तै, मुग्लिङसम्म उच्च जोखिम तथा चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
सम्भावित जोखिमबाट बच्न बेनीघाट क्षेत्रका बासिन्दालाई सुरक्षित उच्च स्थानमा जान र मुग्लिङ आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ।
बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचनाको फेसबुक पेज वा ११५५ नम्बरमा सम्पर्क गर्न महाशाखाले आग्रह गरेको छ।










Discussion about this post