काठमाण्डौ — नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाण्डौमा हुँदैछ।
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुहुनेछ भने रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नुहुनेछ।
बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषय र बहुपक्षीय मञ्चमा दुई देशबीच सहकार्यका सम्भावनाबारे पनि छलफल हुनेछ।
नेपाल र रुसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाण्डौमा भएको थियो।
यसैबीच, रुसी उपविदेशमन्त्री रुडेन्कोले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको जोखिमबारे उठाउनुभएको विषयको प्रशंसा गर्नुभएको छ।
उहाँले जलवायु परिवर्तन विश्वकै लागि चेतावनीको विषय भएको उल्लेख गर्दै नेपालले भोगिरहेको विपद्का बेला रुस आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको बताउनुभएको छ।










Discussion about this post