काठमाडौं । देशका अधिकांश भू–भागमा आज र भोलि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा हिजोको तुलनामा आज र भोलि अझै ठूलो वर्षा हुन सक्ने मौसमविद् हरि दाहालले जानकारी दिनुभएको छ।
महाशाखाका अनुसार हाल देशमा मनसुनी तथा पश्चिमी वायुको प्रभाव रहेको छ। यसको प्रभावका कारण धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज र भोलि ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
तर लगातार झरी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। पर्सिदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने अनुमान गरिएको छ।
यसैबीच, गएराति बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। दैलेख, कैलाली, बर्दिया, जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु र कास्की आसपासमा वर्षा भएकाले साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।










Discussion about this post