काठमाडौं । उपत्यकामा एलपी ग्यासको अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ग्यास उद्योग तथा फर्ममा गरिएको अनुगमनका क्रममा चार व्यवसायीलाई जरिबाना गरिएको छ भने २५ फर्मलाई निर्देशन तथा आवश्यक कारबाही गरिएको विभागले जनाएको छ।
भदौ २९ गते गरिएको अनुगमनमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार चार व्यवसायीबाट कुल २५ हजार रुपैयाँ जरिबाना असुल गरिएको छ। विभागका अनुसार सत्यश्वर इन्टरप्राइजेज, सोल्टीमोडलाई १० हजार रुपैयाँ तथा बज्र किराना स्टोर्स, असन, जे एन्ड जे स्टोर, कमलविनायक र ओम शाही स्टोर, बालकोटलाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको हो।
विभागका महानिर्देशक मोतीराम सापकोटाले ग्यास अभावसँगै दैनिक उपभोग्य वस्तुको मूल्य, आपूर्ति तथा बिक्री वितरण अवस्थाबारे नियमित अनुगमन भइरहेको बताए।
यसअघि भदौ २५ गते विभागले उपत्यकाका १३ ग्यास बिक्री केन्द्रमा आकस्मिक अनुगमन गरेको थियो। उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा गरिएको अनुगमनमा विभिन्न बिक्री केन्द्रमा ग्यासको आपूर्ति र वितरणमा असमानता देखिएको थियो।
बागबजारस्थित लामिछाने ग्यास सेन्टरमा ७० सिलिन्डरमध्ये ६५ बिक्री भइसकेका थिए भने सुदन स्टोरमा आएका ५० वटै सिलिन्डर बिक्री भएका थिए। बागबजारकै रचना ग्यास सेन्टरमा भने ग्यास मौज्दात थिएन। शीतलमार्ग, बालुवाटारस्थित जय पारिधि स्टोर बन्द अवस्थामा भेटिएको विभागले जनाएको छ।
नेपाल ग्यासको बिक्री डिपोमा आएका ७० सिलिन्डर सबै वितरण भइसकेका थिए। बूढानीलकण्ठको केएस ग्यास सेन्टरमा ४४, मनमैजुको भण्डारी किराना स्टोरमा २५५, बानियाँटारको सफल मार्टमा २०० र पाण्डे स्टोरमा १०२ सिलिन्डर आएकोमा सबै बिक्री भएको पाइएको थियो।
बालाजुस्थित इन्द्रावती ग्यास पसलमा भने तीन–चार दिनदेखि ग्यास नआएको भेटिएको थियो। मनमैजुको एस एन्ड एस खाद्य स्टोरमा सीता र सगर ग्यासका गरी ५० सिलिन्डर आएको र कम्पनीअनुसार वितरण भइरहेको पाइएको विभागले जनाएको छ।
बागबजारस्थित पोखरेली ग्यास सप्लायर्समा ३५० सिलिन्डर रहेको भनिए पनि स्थानीयलाई प्रहरीको उपस्थितिमा वितरण गरिएको भन्दै पसल बन्द अवस्थामा भेटिएको थियो। मनमैजुको आयुष किराना स्टोरमा आएका ४४ सिलिन्डरमध्ये ४२ बिक्री भइसकेका र दुईवटा बाँकी थिए।
अनुगमन विवरणले उपत्यकामा ग्यासको आपूर्ति पूर्ण रूपमा रोकिएको नभए पनि बिक्री केन्द्रअनुसार आपूर्तिमा असमानता रहेको देखाएको छ। कतिपय केन्द्रमा पर्याप्त सिलिन्डर नपुग्ने, पुगेका सिलिन्डर तत्काल सकिने तथा केही स्थानमा वितरणसमेत अवरुद्ध हुने अवस्था देखिएको विभागको निष्कर्ष छ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले ग्यास अभावको फाइदा उठाउँदै कालोबजारी तथा बिचौलियाको गतिविधि हुन नदिन सरकारले प्रभावकारी अनुगमन र कडा कारबाही गर्नुपर्ने बताए। अत्यावश्यक वस्तुको अभावमा उपभोक्ताले घण्टौं लाइन बस्नुपर्ने अवस्था आउनु आपूर्ति व्यवस्थापनको कमजोरी भएको उनको भनाइ छ।
ग्यास अभाव समाधानका लागि सरकारले बजार अनुगमनसँगै आपूर्ति कहाँ रोकिएको हो, बिक्री केन्द्रसम्म नियमित रूपमा ग्यास किन पुग्न सकेको छैन र उपलब्ध ग्यास कसरी वितरण भइरहेको छ भन्ने विषयमा स्पष्ट अध्ययन गरी आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित गर्नुपर्ने देखिएको छ।










Discussion about this post