काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले समूह चरणमा लगातार तेस्रो जित निकाल्दै एक खेलअगावै अन्तिम चारमा स्थान पक्का गरेको हो।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुल्शन झाले अविजित ४४ रन तथा रोहित पौडेलले अविजित २४ रनको योगदान दिए।
त्यसअघि ईशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए।
साउदीका लागि इश्तियाक अहमद र मुहम्मद आतिफले दुई–दुई तथा मोहम्मद शेखले एक विकेट लिए।
यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो।
साउदीका ओपनर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए। मुहम्मद आतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट हात पारे।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलपछि नेपालको समूह चरणको अन्तिम स्थान तय हुनेछ।










Discussion about this post