मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित
काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी यात्रा जारी राखेको हो।
मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४५ रन बनाए।
इशान पाण्डेले २० रन, रोहित पौडेलले १० रन तथा दीपेन्द्रसिंह ऐरीले १२ रनको योगदान दिए। आशिफ शेख खाता खोल्न नसकी आउट हुँदा देव खनालले २ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाको पारी नेपाली बलरले १०३ रनमै समेटेका थिए।
नेपालका लागि करण केसीले शानदार बलिङ गर्दै ४ विकेट लिए। ललित राजवंशीले २ विकेट हात पार्दा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
मलेसियाविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो।
लगातार दुई खेलमा जित निकालेसँगै नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।










Discussion about this post