कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्गको दैजी–बेलडाँडी सडकखण्डको करिब १५ किलोमिटर क्षेत्रमा मोबाइल नेटवर्क नहुँदा यात्रु, पर्यटक तथा सुरक्षाकर्मी समस्यामा पर्ने गरेका छन्।
३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जबाट हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र बेलौरी–कलुवापुर सडक सञ्चालनमा रहे पनि निकुञ्जको बीच भागमा पर्ने दैजी–बेलडाँडी सडकखण्डमा मोबाइल सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ। दैनिक एक हजारभन्दा बढी यात्रु आवतजावत गर्ने यस सडकमा दुर्घटना, सवारीसाधन बिग्रिने वा वन्यजन्तुसँग जम्काभेट हुँदा तत्काल सम्पर्क हुन नसक्दा उद्धार र समन्वयमा कठिनाइ हुने गरेको छ।
यात्रु रुपेश बोहराले मोबाइल नेटवर्क नहुँदा आकस्मिक अवस्थामा सहयोग माग्नसमेत समस्या हुने बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले संरक्षण संवेदनशील क्षेत्र भए पनि दैनिक हजारौँ यात्रु र पर्यटकको आवतजावत हुने भएकाले भरपर्दो मोबाइल सञ्चार सेवा अपरिहार्य भइसकेको बताउँदै सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशराज भट्टले समस्याबारे जानकारी प्राप्त भएको बताउँदै स्थलगत अनुगमनपछि आवश्यक विवरण माथिल्लो निकायमा पठाइने बताउनुभयो।
मोबाइल नेटवर्क नहुँदाको असर साउन ४ गते पनि देखिएको थियो। भीमदत्त, वेदकोट र बेलडाँडीका १७ जना च्याउ टिप्न निकुञ्ज प्रवेश गरेपछि सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानीयवासी परिचालन गरिनुका साथै ड्रोन र निकुञ्जका नौ वटा पालुवा हात्तीसमेत प्रयोग गरिएको थियो। उनीहरूलाई २६ घण्टापछि सकुशल उद्धार गरिएको थियो।










Discussion about this post