महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि एक विशेष ‘फेरि भेटौँला’ (बिदाइ) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा आयोजित उक्त समारोहमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कक्षा १२ का ५२ जना विद्यार्थीहरूलाई अबिर, खादा र मायाको चिनो प्रदान गरी सम्मानका साथ बिदाइ गरिएको हो। कक्षा ११ की छात्रा पूर्णिमा कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्ट प्रमुख अतिथि र संस्थापक अध्यक्ष हर्कबहादुर धामी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू मार्फत माहोललाई रोचक बनाएका थिए। सम्बोधनका क्रममा प्रमुख अतिथि एवं प्रिन्सिपल भट्टले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षक र व्यवस्थापन पक्षले अहोरात्र मिहिनेत गरेको स्मरण गराउनुभयो।

“हामीले अन्य विद्यालयभन्दा पृथक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ। हाम्रा विद्यार्थीहरूले रातदिनको मिहिनेतबाट उत्कृष्ट नतिजा ल्याउनेमा म पूर्ण विश्वस्त छु,” प्रिन्सिपल भट्टले भन्नुभयो। उहाँले जीवनमा सफलता हासिल गर्न कडा परिश्रम, अनुशासन र आत्मविश्वास अनिवार्य रहेको बताउँदै विद्यार्थीहरूलाई नैतिकता र व्यावहारिक ज्ञानलाई सधैँ आत्मसाथ गर्न सुझाव दिनुभयो।
त्यस्तै, विशिष्ट अतिथि हर्कबहादुर धामीले अभिभावकको सपना साकार पार्न र आफ्नो भविष्य उज्ज्वल बनाउन कक्षा १२ को परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
कक्षा ११ का विद्यार्थीहरूले आफ्ना अग्रजहरूको सम्मानमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने बिदाइ भई जाने विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू र शिक्षकहरूले पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गरे। मायाको चिनो वितरणसँगै कार्यक्रमको समापन गरिएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास भर्ने विश्वास विद्यालयले लिएको छ।










Discussion about this post