कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका-३, भम्कामा रहेको श्री अरनिको इंग्लिस सेकेन्डरी स्कुलले आफ्नो ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार विशेष समारोहका साथ सम्पन्न गरेको छ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक देवराज जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहन गुर्धामी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुर्धामीले अरनिको स्कुलले यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदानको उच्च कदर गर्नुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको व्यक्तित्व विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

त्यसैगरी, विद्यालयका प्रबन्ध निर्देशक देवराज जोशीले विद्यालय र विद्यार्थीको समग्र विकासका लागि व्यवस्थापन पक्ष अहोरात्र खटिएको बताउनुभयो। “हामी विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउनु मात्र नभई समाजमा एक दक्ष र जिम्मेवार जनशक्तिका रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ अघि बढेका छौँ,” जोशीले भन्नुभयो। उहाँले विद्यालयले गत वर्षको एसइइ परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएको जानकारी समेत दिनुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव रोश्याराले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका भावी लक्ष्य र शैक्षिक उपलब्धिहरूमाथि प्रकाश पार्नुभएको थियो। उहाँले विद्यालयले केवल किताबी ज्ञानमा मात्र सीमित नरही विद्यार्थीको चौतर्फी व्यक्तित्व विकास, अनुशासन र प्रविधिमैत्री शिक्षालाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो।

सांस्कृतिक र सांगीतिक आकर्षण कार्यक्रमको सुरुवात भव्य मार्चपासबाट गरिएको थियो। विद्यालयको विशेष पहिचानका रूपमा रहेको वाद्यवादन सहितको गायन प्रस्तुतिले दर्शकहरूको मन जितेको थियो।

विद्यार्थीहरूले बाँसुरी, पियानो र मादलको धुनमा उत्कृष्ट सांगीतिक कला प्रदर्शन गरेका थिए। सो अवसरमा विभिन्न विधाका कलाकारहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा शैक्षिक सत्रभरि अतिरिक्त क्रियाकलाप र परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो।
विद्यालयका शिक्षक पुष्पराज जोशीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।










Discussion about this post