कञ्चनपुर । सुदूरपश्चिम प्रदेशकै अग्रणी तथा प्रतिष्ठित शैक्षिक संस्था कञ्चनपुरको भीमदत्त नगरपालिका १८, महेन्द्रनगरमा अवस्थित रेडियन्ट माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती मनाएको छ।
विद्यालयले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गर्दै आफनो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती सम्पन्न गरेको हो।वि.सं. २०५७ सालमा सिद्धनाथ विज्ञान क्याम्पसका १३ जना अनुभवी प्राध्यापक तथा शिक्षाविद्हरूको सक्रिय पहलमा स्थापना गरिएको यस विद्यालयले सुरुवाती चरणमा सीमित स्रोतसाधनका बीच मात्र १७ जना विद्यार्थीबाट आफ्नो शैक्षिक यात्रा आरम्भ गरेको थियो।
आज २५ वर्षको अन्तरालमा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयले विगत साढे दुई दशकको अवधिमा शैक्षिक गुणस्तर, अनुशासन र आधुनिक शिक्षण पद्धति अपनाउँदै विद्यार्थी केन्द्रित प्रणालीमार्फत सुदूरपश्चिममै आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ।
रजत जयन्ती समारोहका अवसरमा विद्यालयले उल्लेख्य सफलता हासिल गर्ने विद्यार्थी तथा पूर्व विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ। कार्यक्रममा हालै एमबीबीएस मा नाम निकाल्न सफल विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। साथै, यसै विद्यालयमा अध्ययन गरेर हाल विभिन्न सरकारी कार्यालयहरूमा सेवा दिइरहेका कर्मचारीहरू र चिकित्सक बन्न सफल पूर्व विद्यार्थीहरूलाई पनि उनीहरूको सफलताको कदर गर्दै सम्मान गरिएको थियो।
विद्यालयका प्रिन्सिपल त्रिभुवन कुमार भट्टले पछिल्ला वर्षहरूमा एसईई तथा कक्षा १२ को परीक्षामा रेडियन्ट माविले निरन्तर उत्कृष्ट नतिजा हासिल गरिरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार यस वर्षको कक्षा १२ को परीक्षामा समेत विद्यालयले देशभरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। रेडियन्ट माविबाट शिक्षा प्राप्त गरेका सयौँ विद्यार्थीहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सरकारी एवं निजी संस्था, शैक्षिक निकाय, बैंक, स्वास्थ्य, इन्जिनियरिङ र सूचना प्रविधिका क्षेत्रमा सफल पेसागत जीवन बिताइरहेका छन्।
उक्त भव्य समारोहमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्व विद्यार्थी, शिक्षाविद् तथा विभिन्न सरोकारवाला निकायहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान, विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुति र विद्यालयको भावी शैक्षिक योजनाहरू सार्वजनिक गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा प्रविधिमैत्री शिक्षण, स्मार्ट कक्षा, अनुसन्धानमुखी शिक्षा र छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्दै उच्च शिक्षाका नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य अघि सारेको छ।
२५ वर्षको गौरवशाली यात्रासँगै विद्यालयले सुदूरपश्चिमको शैक्षिक विकासमा पुर्याएको योगदानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।










Discussion about this post