काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोलीले सुदूरपश्चिम रोयल्सले आफ्नो चौथो विदेशी खेलाडीका रूपमा युएईका अलराउन्डर रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय मुस्ताफालाई अनुबन्ध गरेको जानकारी दियो । मुस्ताफाले युएईका लागि ५८ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा चार अर्धशतकसहित १ हजार ६ रन बनाएका छन् । उनको नाममा ६१ विकेट पनि छ ।
यसअघि सुदूरपश्चिमले स्कटल्यान्डका ब्याटर ब्रेन्डन म्याकमुलन र इङ्ल्यान्डका अलराउन्डर सैफ अली जैब र न्युजिल्यान्डका अलराउन्डर स्कट कुग्गेलिजनलाई भित्र्याएको थियो ।
यससँगै सुदूरपश्चिमले चार विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।
सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । टोलीले जगत टमाटालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।