ठूलालाई चैन
सानालाई ऐन
पहुँचवालालाई
फूलमाला र खादा
निर्धन र निमुखालाई
प्रहारै प्रहार अनि भाटा
सून्य लाग्यो जता नि हाता
देशको मुल कानुन
संविधान अनि
नीति नियम पनि छ रे!
रह्यो त केबल सीमित पानामा
अनि केही पुँजीपति र सत्ताधारी कै हातमा
नाच्छ अगि र पछि उनकै इसारामा
बन्यो आज आफ्नै कलम झै खल्तीमा
शासक अनि सामन्तवादी कै हितमा
जलाइदेऊ त्यस्तो कागज
अनि मेटाइदेऊ ती अस्तित्वहरु
छैनन् जुन जनपक्षमा भने
हत्या गर्ने छुट अपराधीलाई
संरक्षण भ्रष्ट्रचारीलाई छ भने
भत्काइदेऊ ती कारागारका
पर्खालहरू अनि खोलिदेऊ
ती जेलका कैदी बस्ने ढोकाहरू
कोही बिनाकसुर थुनिन्छन्
कोही कसुर नै गरेपनि
रङ्गोली खेल्दै निकालिन्छन्
पैसा र पावरको मातमा
अनि शक्तिका आडमा
गर्या कुकृत्य जसले
उसलाई आश्रय दिइ
आफ्नै आश्रममा राखिन्छन्।
जहाँ कानुनको धज्जी उडाइन्छ
आफ्नै खल्तीको कलम बनाइन्छ
म मेरो हाम्रा र बलिष्ठका लागि पुजिन्छ
अनि कमजोर पक्षलाई दबाइन्छ ,पछारिन्छ भने …
चाहिदैन त्यस्तो कानुन
फ्याँकिदेऊ,जलाइदेऊ या च्यातिदेऊ!
एक बालिका बलात्कृत हुन्छे
बलत्कारपछि हत्या गरिन्छ
अनि प्रमाणहरु सबै मेटाइन्छ
ब्वाँसोलाई खुलेआम डुलाइन्छ ।
सिउँदोको सिन्दुर पुछिदा
आमाको काख रितिदा
न्यायका लागि गिड्गिडाउँदा
दुई हात जोडेर भिक माग्दा
यो दैलो र त्यो दैलो गुहार्दा
जब मौन थियो त्यो कानुन भने ….
चाहिदैन त्यस्तो कानुन
फ्याकिदे जलाइदे या च्यातिदे!
निर्दोष दुधे बालक
अनि अबोध बालिकाहरु
छट्पटिएर एक घुट पानी पनि नपाइ भन्न
जसको इहलीला समाप्त गरियो ,
आज परको िक्षतिजबाट
तिनै भड्किएका आत्माहरूले
आज न्याय खोजिरहेका छन्,
कहाँ छौ तिमी??
– रन्जना थापा लम्साल