सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

५० हजार वर्षपछि पृथ्वी नजिक आउँदै हरियो पुच्छ्रेतारा

५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै आएको छ । पछिल्लोपटक उक्त पुच्छ्रेतारा पृथ्वीको नजिक आउँदा होमो सेपियन्स (मानिस) अफ्रिकाबाट विश्वको अन्यत्र बसाइँ सर्न थालेका थिए । यो पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आगामी बिहीबार अर्थात् फ्रेबुअरी २ मा आउनेछ ।

त्यस दिन पृथ्वी र पुच्छ्रेताराबीचको दुरी २ करोड ६४ लाख किलोमिटर हुनेछ । यो दुरी भनेको पृथ्वी र चन्द्रमाबीचको दुरीको १ सय १० गुणा बढी हो । हामी बस्दै आएको उत्तरी गोलार्द्धबाट ध्यानपूर्वक हेर्दा यो तारालाई खुला आँखाले देख्न सकिने सम्भावना रहेको खगोलशास्त्रीहरूले बताएका छन् । तर‚ त्यो हेर्न भने बिहीबार नै कुर्नु नपर्ने खगोलशास्त्रीहरू बताउँछन् ।

मध्यरातमा दूरबिनको प्रयोग गरेर पनि उक्त पुच्छ्रेतारा हेर्न सकिने खगोलशास्त्रीहरूले बताएका छन् । ‘मध्यरातपछि बिहानसम्म हेर्दा यो तारा देख्न सकिन्छ । बिहान साढे ४ बजेतिर क्षितिजको सबैभन्दा माथि रहन्छ‚’ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, ‘हामीले पनि काठमाडौँबाट अवलोकन गर्ने प्रयास गरेका छौँ तर अहिलेसम्म देखिएको छैन । अर्को सातासम्म राम्रोसँग देखिन्छ भन्ने आशामा छौं ।’ उनले काठमाडौंमा प्रकाश प्रदूषण बढी भएकाले नदेखिएको पनि हुनसक्ने बताए । ‘यसका लागि डार्क स्काई आवश्यक छ र प्रकाशको कारण काठमाडौंको आकास सफा छैन‚’ भट्टराईले भने, ‘बुधबारदेखि शुक्रबारसम्म नांगो आँखाबाट देखिने भन्ने अपेक्षा गरिएको छ । त्यस्तो अवस्थामा सहरभन्दा पनि ग्रामीण ईलाकाबाट राम्रोसँग देखिन्छ । त्यहाँ वायु र प्रकाश प्रदूषण सहरको तुलनामा कम हुन्छ ।’

कसरी पत्ता लागेको थियो पुच्छ्रेतारा ?

Mahakali Polytechnic

क्यालिफोर्नियास्थित पलोमर पहाडबाट ‘ज्विकी ट्रान्जिएन्ट फ्यासिलिटी’ (जेडटीएफ) टेलिस्कोपको प्रयोग गरेर सन् २०२२ मार्चमा यो पुच्छ्रेतारा पत्ता लगाएको थियो । त्यस समयमा यो तारा वृहस्पतिको वरिपरि परिक्रमा गरिरहेको थियो । त्यसबेला यो तारा खुला आँखाले देख्न सकिने सबैभन्दा धमिलो ताराभन्दा पनि करिब २५ हजार गुणा धमिलो थियो । तर‚ क्यामेरासहितको जेडटीएफले खिचेको धेरै रातहरूमा देखिएको आकासका तस्बिरहरू स्क्यान गर्दा यो पुच्छ्रेतारा पत्ता लागेको थियो ।

 

World Link Ads

पुच्छ्रेतारा के हो र यो किन हरियो हुन्छ ?

Sana Kishan

पुच्छ्रेतारा धुलो र जमेका ग्याँसको पीण्ड हो । यसलाई केही खगोलशास्त्रीहरूले ‘फोहोरी हिउँको ढिक्का’ को संज्ञासमेत दिने गरेका छन् । कुनै एउटा पीण्ड चिसो वायुमण्डलमा विकास हुने र आफ्नो गतिमा चल्दै सौरमण्डल पुग्दा सूर्यको गुरुत्वाकर्षणले आफूतर्फ तान्ने भएकाले त्यो अन्तरक्रियाको क्रममा एउटा चित्ताकर्षक खगोलीय वस्तु बन्ने र त्यो वस्तु नै पुच्छ्रेतारा भएको बताइन्छ ।

सूर्यको तापले त्यसको सतह खिइँदै जाने हुँदा खिइएर गएको पदार्थबाट ग्याँस र धुलो निस्किने खगोलशास्त्रीहरू बताउँछन्, जुन करोडौं किलोमिटर पर पुग्छ । ‘कोमा’ नाम गरेको केन्द्र भागमा नपुग्दासम्म उक्त पीण्डको खिइने क्रम जारी रहन्छ । यो सूर्यबाट टाढा हुँदा निष्क्रिय हुने र सूर्यको नजिक हुँदा सूर्यको तापका कारण सक्रिय हुने बताइन्छ । सूर्यबाट आउने परावैजनी विकिरण र पुच्छ्रेतारामा रहेको डाइटोमिक कार्बन दुवैको अणु मिलेर यसबाट हरियो प्रकाश निस्किने र त्यही प्रकाशका कारण यो तारालाई हरियो पुच्छ्रेतारा भन्न थालिएको हो ।

यो पुच्छ्रेतारा कति चम्किलो छ ?

पुच्छ्रेताराको चमकको मापन अहिलेसम्म भएको छैन । वैज्ञानिकहरूले यही पुच्छ्रेतारा पहिलो पटक पत्ता लगाउँदा यो तारालाई पृथ्वीबाट पनि देख्न सकिने सम्भावना मात्रै रहेको भनी बताइएको थियो । किनभने प्रत्येक पुच्छ्रेताराको आफ्नो प्रकारको जीवन हुने भएकाले सूर्य पार नगर्दासम्म त्यसले कसरी प्रतिक्रिया जनाउँछ भन्नेबारे केही ज्ञान हुन्छ ।

गत जनवरी १२ मा यो पुच्छ्रेतारा सूर्यको नजिक पुगेको थियो र पृथ्वीतर्फ आउँदा बिस्तारै चम्किलो हुँदै आएको छ । करिब करिब खुला आँखाले देखिने अवस्थामा रहेको यो पुच्छ्रेताराले हामीलाई आगामी बिहीबार पृथ्वीलाई पार गर्नुअघि देखिने अवसर निकै छ । अहिले पनि यो पुच्छ्रेतारा डार्क स्काई (निष्पट्ट अँध्यारो) र खगोलीय वस्तुको अवलोकनको अनुभवहरूले पनि हेर्न सक्छन् । पुच्छ्रेतारामा कहिले काहीँ ग्याँस र धुलोको विष्फोट भएर अचानक धेरै चम्किलो पनि देख्न सकिने खगोलशास्त्री बताउँछन् ।

कसरी पत्ता लगाउने हरियो पुच्छ्रेतारा ?

नासोका अध्यक्ष भट्टराईले अहिले सप्तऋषि र ध्रुवताराको बीचमा रहेको बताए । उनका अनुसार यो पूर्वतर्फबाट उत्तरतर्फ सर्दै गएको देखिन्छ । उनले फ्रेबुअरीको पहिलो साता ध्रुव ताराको आसपास हुने बताए ।

अध्यक्ष भट्टराईले पुच्छ्रेतारा भन्नेबित्तिकै मानिसको चम्किलो र हरियो भनेर सोच्ने भए पनि नांगो आँखाले हेर्दा त्यस्तो नदेखिने बताए । ‘धमिलो बादलजस्तो देखिन्छ, तारा जस्तो चम्किलो हुँदैन । हामीले देख्ने गरेको तस्बिर राम्रो टेलिकोस्पको प्रयोग गरेर खिचिएका तस्बिरहरू हुन्,’ भट्टराईले भने ।मणि दाहालले ईकान्तिपुरमा लेखेका छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds