सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनसुन बंगालमै रोकिँदा अत्यधिक गर्मी ‘अझै ४ –५ दिन मनसुन नेपाल पस्ने छाँट छैन’

काठमाडौँ — मौसमी प्रणाली बंगालको खाडीमै रोकिएपछि नेपाल आउने मनसुनी प्रणाली अवरुद्ध भएको छ । मनसुन पछि धकेलिँदा देशैभर तापक्रम बढिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यतिबेला बंगालको खाडी हुँदै जलवाष्पयुक्त वायु आइसक्नुपर्थ्यो । ‘जलवाष्पयुक्त वायुको प्रवाह भएको भए बादल लाग्थ्यो र धेरथोर वर्षा हुन्थ्यो,’ उनले कान्तिपुरसित भने, ‘त्यसो हुँदा तापक्रम घट्न पनि सहयोग पुग्थ्यो ।’ मनसुनी प्रणाली उत्तरतिर सर्दै आएपछि मनसुनी गतिविधि सुरु हुन्छ । ‘मनसुनी गतिविधिका लागि प्रणाली नै सर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो भएको छैन, बंगालकै खाडी आसपासमा मनसुन ‘ट्र्याप’ भएको छ ।’

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावलाई दक्षिणपूर्वी वायुले विस्थापित गर्न सके मात्र मनसुन सुरु हुन मद्दत पुग्छ । ‘अहिले पश्चिम वायु नै प्रभावकारी देखिएको छ,’ उनले भने, ‘अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पनि मनसुनी गतिविधि प्रवेशमा ढिलाइ भएको हो ।’ बंगालको खाडी र अरब सागर वरिपरि न्यूनचापीय प्रणाली विकास भएका कारण मनसुनी गतिविधि अघि बढेको छैन । एक/दुई दिनमा आँधी जमिनतिर सर्दै गएपछि मनसुनी गतिविधिका लागि सहज वातावरण बन्ने आकलन गरिएको छ ।

पौडेलका अनुसार भारतमा पनि यतिबेला सबैतिर मनसुन सक्रिय भइसक्नुपर्नेमा केरला र तमिलनाडु आसपासमै अडकिएको छ । बंगलादेशमा केही दिनदेखि मनसुन सुरु भएको छ । मनसुनी गतिविधि रोकिएर आकाशमा बादल बन्न नपाएपछि काठमाडौंसहित देशभर तापक्रम बढिरहेको छ । काठमाडौंमा यो साता ३३.५ डिग्रीसम्म तापक्रम रेकर्ड भएको छ । आइतबार भने ३२.५ मा घटेको छ । पश्चिम नेपालतिर तापक्रम ४० डिग्री नाघिसकेको छ ।

Mahakali Polytechnic

सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्षयता धकेलिरहेको छ । अझै चार–पाँच दिन मनसुन प्रवेश गर्ने छाँट छैन । ‘भारतको सिक्किमतिर दुई–तीन दिनमा मनसुन प्रवेश गर्ने सम्भावना देखिएको छ,’ मौसमविद् अर्यालले भने, ‘त्यसपछि बल्ल ताप्लेजुङ, इलाम हुँदै मनसुन प्रवेश हुन सक्छ ।’

World Link Ads

अहिले मनसुन भारतको मध्यभागतिरै अलमलिएको छ । सामान्यतया जुन १ मा केरलामा र त्यसको १० दिनपछि (१० जुन/जेठ २७) पूर्वी भाग हुँदै नेपाल प्रवेश गर्छ । काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले पनि पछिल्ला वर्ष मनसुन पछाडि धकेलिँदै गएकाले सुरु हुने मिति नै हेरफेर गर्नुपर्ने टिप्पणी गरे । ‘मनसुन ५ देखि १० दिनपछि धकेलिने गरेको छ,’ शाक्यले भने, ‘यो वर्ष पनि त्यस्तै सम्भावना छ ।’

Sana Kishan

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को डेढ महिनाअघि काठमाडौंमा भएको सम्मेलनले यस वर्ष नेपालमा पूर्वी भागमा औसतभन्दा कम मनसुनी वर्षा हुने आकलन गरेको छ । मध्य र पश्चिमी भागमा भने औसत वर्षा हुने अनुमान गरिएको छ । मनसुन सुरु हुनुअघि दक्षिण एसिया क्षेत्रका मौसमविद् मनसुनसम्बन्धी साझा दृष्टिकोण बनाउन सन् २०१० देखि भेला हुने गरेका छन् ।
-कान्तिपुर

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds