सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रंगेहात पक्राउ परेका कर्मचारी अदालतकाे सफाइपछि फेरि भ्रष्टाचारमै सामेल

अख्तियारको हिरासतमा ४८ जना

भ्रष्टाचार प्रकरणमा रंगेहात पक्राउ परेका कर्मचारीलाई अदालतले सफाइ दिने र साधारण तारेखमा छाड्ने गर्दा उनीहरू पुनः भ्रष्टाचारमै फर्किने गरेका छन् । धनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरेपछि पक्राउ परेका मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठले अदालतबाट उन्मुक्ति पाएपछि फेरि भ्रष्टाचार सुरु गरेका छन् । जिल्ला अदालतको आदेशमा साधारण तारेखमा छुटेपछि पुरानै कार्यालयमा फर्किएका श्रेष्ठ सेवाग्राहीसँग घुस लिँदालिँदै २३ जेठमा पक्राउ परेका हुन् ।

अनियमिततासम्बन्धी एउटा मुद्दामा अदालतबाट छुटेपछि जागिरमा जोडिएर फेरि भ्रष्टाचारमा मुछिने चन्द्रबहादुर श्रेष्ठ एक्ला कर्मचारी होइनन् । काभ्रेमा सहायक वन अधिकृत रहँदा २० हजार घुससहित रंगेहात पक्राउ परे पनि विशेष र सर्वोच्च अदालतबाट सफाइ पाएका प्रह्लादप्रसाद धिताल पनि पुनः भ्रष्टाचार प्रकरणमै पक्राउ परेका छन् । मकवानपुरको जिल्ला वन अधिकृत (डिएफओ) रहँदा ब्रह्म सामुदायिक वनका रूख अवैध रूपमा काटेर बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

सुब्बा चन्द्रबहादुर श्रेष्ठ
: धनीलाई छलेर ४० आना जग्गा बेचिदिए, पक्राउ परे पनि अदालतको आदेशमा छुटे, फेरि मालपोत फर्केर घुस धन्दा चलाएपछि पक्राउ
धनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर बुढानीलकण्ठको ४० आना जग्गा बिक्री गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठसहितका कर्मचारी गत भदौमा पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाले उनीहरूविरुद्ध संगठित अपराध र ठगी मुद्दामा मुद्दा चलायो । चन्दनलाल कायस्थको सो जग्गा उनलाई थाहै नदिई बिक्री गर्दा उनको संलग्नताको प्रशस्त आधार देखिएकाले नै प्रहरीले दुई महिना थुनामा राखेर अनुसन्धान ग¥यो । त्यसपछि अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगले एक महिना थुनामा राखेर अनुसन्धान गर्‍यो ।

तर, काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी पुनः चाबहिल मालपोतमै काममा फर्किए । साधारण तारेखमा छुटेपछि जागिरमा फर्किन पाउने प्रावधान छ । उनी पुनः खुलेआम घुसखोरीमा उत्रिए । एउटा फाइल खोज्नसमेत घुसविना नचल्ने भए । २३ जेठमा गोकर्णेश्वर–४ का सेवाग्राही आफ्नो जग्गाको मिसिलको प्रमाणित प्रतिलिपि लिन मालपोत पुग्दा दुई हजार नदिए मिसिल नखोज्ने चुनौती श्रेष्ठले दिए । हैरान भएपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिए । घुस लिएलगत्तै कार्यालयबाटै श्रेष्ठ पक्राउ परेका छन् ।

अदालतले साधारण तारेखमा छाडेपछि उनको हौसला बढेको अख्तियारका एक अधिकारी बताउँछन् । ‘सायद अदालतले नछाडेको भए चाबहिल मालपोतमा उनको घुसखोरीले निरन्तरता पाउने थिएन,’ ती अधिकारीले भने, ‘अझ पक्राउ परेर छुटेका कर्मचारी सोही मालपोत कार्यालयमै रहनु अर्काे आश्चर्यको विषय छ ।’

Mahakali Polytechnic

डिएफओ प्रह्लाद धिताल : काभ्रेमा सहायक डिएफओ छँदा रंगेहात समातिए, अदालतबाट सफाइ पाएपछि मकवानपुरको डिएफओ बनेर पुनः भ्रष्टाचार
प्रह्लादप्रसाद धिताल चार वर्षअघि काभ्रेमा सहायक वन अधिकृत छँदा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । व्यक्तिगत जमिनको रूख कटानको अनुमतिका लागि उनले घुस लिएका थिए । अख्तियार टोलीले बबरमहलबाट उनलाई रंगेहात पक्राउ गरेको थियो । तर, काभ्रेको कर्मचारी काठमाडौंमा पक्राउ परेको भन्दै विशेष र सर्वाेच्च अदालतले सफाइ दियो ।

World Link Ads

सफाइपछि धिताल मकवानपुरको डिएफओ बने । त्यहाँ रहँदा ब्रह्म सामुदायिक वनका रूख अवैध रूपमा काटेर बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध गत १ जेठमा एक करोड ५८ लाख बिगो दाबी गरी पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ । ‘एकातर्फ कर्मचारीमा घुसको लत बसिसकेको छ, अर्काेतर्फ रंगेहात पक्राउ पर्दा पनि अदालतले सफाइ दिन थालेपछि उनीहरूको हौसला बढेको छ,’ अख्तियारका एक अधिकारी बताउँछन् ।

Sana Kishan

अख्तियारको हिरासतमा ४८ जना
विभिन्न भ्रष्टाचार मुद्दामा ४८ जनालाई थुनामा राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । पछिल्लो एक वर्षमा पहिलोपटक अख्तियारले यति धेरैलाई एकैपटक पक्राउ गरेको हो ।

४८ मध्ये २७ कर्मचारी घुससहित रंगेहात पक्राउ परेकाहरू छन् । पछिल्लो समय हरेक दिनजसो कर्मचारी घुससहित पक्राउ परेका छन् । अन्य २१ जना विभिन्न अनियमितताको छानबिनका लागि हिरासतमा राखिएको छ । आयोगको हिरासतको क्षमता करिब १५ जनाको मात्र भएकाले उनीहरूलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

मालपोत कार्यालय नेपालगन्जका १० कर्मचारीलाई हिरासतमा राखेर अख्तियारले छानबिन गरिरहेको छ । व्यक्तिको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा उनीहरूमाथि छानबिन भइरहेको हो । त्यस्तै, जुम्लामा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कर्मचारीसहित पाँचजना पनि अख्तियारको हिरासतमा छन् । दुर्घटनामा संलग्न चालक परिवर्तन गर्ने इन्स्पेक्टरसहित तीन र एसइईको प्रश्नपत्र आउट गर्ने तीनजना पनि अख्तियारकै हिरासतमा छन् । अख्तियारको हिरासतमा दुई इन्स्पेक्टर छन् । रुपन्देहीमा कार्यरत इन्स्पेक्टर केशवबहादुर बस्नेतलाई गत शनिबार १५ हजार घुससहित पक्राउ गरेको हो । त्यस्तै दुर्घटनामा संलग्न वास्तविक चालकलाई उन्मुक्ति दिएको आरोपमा इन्स्पेक्टर लोकबहादुर जिसी पक्राउ परेका हुन् ।

साभार नयाँ पत्रिबा बाट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.