काठमाडौं । दसैँका प्रमुख दिनमा देशका अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहने भएको छ। तर, हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने बदलीसँगै हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण दसैँका केही दिन हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुने सम्भावना छ। दसैँ विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले फूलपातिदेखि विजयादशमीसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो।
बुलेटिनअनुसार फूलपातिका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
फूलपातिका दिन हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, महाष्टमीका दिन पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। यस दिन पनि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
दसैँको टीकाका दिन अर्थात् विजयादशमीमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
विजयादशमीका दिन पनि हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
समग्रमा दसैँका अधिकांश दिन देशका धेरैजसो स्थानमा मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यान दिनुपर्ने देखिन्छ।










Discussion about this post