चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । हालसम्म ४६० ग्राहकलाई भूमिगत प्रणालीमार्फत विद्युत् सेवा उपलब्ध गराइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका अनुसार बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज आसपासका ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो ।

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार दैनिक करिब १३ वटा मिटरमा लाइन जडान भइरहेको छ । कुल १८ फिडरमध्ये तीन वटामा जडानको काम बाँकी छ । आयोजनाअन्तर्गत भरतपुरका १ हजार २४० ग्राहकलाई भूमिगत प्रणालीमा जोड्ने लक्ष्य छ ।
भूमिगत विद्युतीकरणका लागि कुल १ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको आयोजनाको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले पाएको हो । सन् २०२१ अक्टोबरमा सुरु भएको काम निर्धारित समयभन्दा ढिला भएपछि पटक–पटक म्याद थप गरी अघि बढाइएको छ ।










Discussion about this post