चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदा दुरुपयोग भएको गुनासोपछि विश्वविद्यालयले छानबिन समिति गठन गरेको छ।
विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा. गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो। विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको हो।

समितिमा कृषि सङ्कायका सहायक डीन (प्रशासन) डा. कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका सहायक डीन (प्रशासन) राजेन्द्र बस्याल र सहप्रशासक सहदेव चौधरी सदस्य छन्। कर्मचारी प्रशासन महाशाखाका कामु उपप्रशासक दिनेश अधिकारी सदस्य सचिव रहेका छन्।
समितिले विश्वविद्यालय स्थापना भएदेखि हालसम्म अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति प्रक्रिया, अध्ययनको अवस्था, बिदाको प्रयोजन र बिदा अवधिमा भएका गतिविधिबारे छानबिन गर्नेछ।
त्यस्तै, अध्ययन बिदा स्वीकृतिको प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई समेत छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ।
समितिले अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी तीन महिनाभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनेछ।
विसं २०६९ मा स्थापना भएको विश्वविद्यालयमा प्राध्यापक तथा कर्मचारी गरी ७७१ जना कार्यरत छन्। तीमध्ये १७२ जना प्राध्यापनतर्फ र ५९९ जना कर्मचारी छन्। हाल प्राध्यापनतर्फ ४० जना र कर्मचारीतर्फ २५ जना अध्ययन बिदामा रहेको रजिस्ट्रार सिंहले जानकारी दिनुभयो।
यसअघि अध्ययन बिदामा गएका शिक्षक तथा कर्मचारीले बिदाको उद्देश्यअनुसार अध्ययन गरे–नगरेको तथा बिदा सकेपछि विश्वविद्यालयमा फर्किए–नफर्किएको विषयसमेत समितिले अध्ययन गर्ने उहाँले बताउनुभयो।










Discussion about this post