काठमाडौं । आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी तथा तिनका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। बागमती, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीमा भने बहाव सतर्कता तह नजिक पुगेको छ।
गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व तथा पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरालगायत जिल्लाका साना नदीमा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
देशका अन्य केही जिल्लामा समेत बाढीको मध्यम जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यसैबीच, पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ। लगातारको वर्षाका कारण नदीको पानीको सतह बढेपछि साँघुरो निकासका कारण रामघाट क्षेत्रमा ताल बनेको जनाइएको छ।
रामघाटमा पानी जमेर ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ।











Discussion about this post