काठमाडौं । देशका धेरै ठाउँमा लगातार वर्षा भइरहेका बेला आज र भोलि अझै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावले वर्षा भइरहेको हो।
महाशाखाका अनुसार आज र भोलि हावाहुरी, मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। सोमबारदेखि भने वर्षा क्रमशः कम हुने अनुमान छ।
लगातारको वर्षाका कारण विभिन्न नदी तथा खोलामा जलसतह बढेको छ। भक्तपुरको हनुमन्ते र काभ्रेको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। इलामका कन्काई र मैनाचुली क्षेत्रमा पनि जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नदी तटीय, डुबान तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र नदी–खोला किनारमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा निकै ठूलो वर्षा हुन सक्ने तथा मधेशसहित तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण नदीमा बाढी, भिरालो क्षेत्रमा पहिरो तथा लेदोको जोखिम रहेकाले लामो दूरीको यात्रा गर्दा विशेष सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।










Discussion about this post