काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने तयारीमा जुटेका छन्। सांसद, मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको आग्रहपछि प्रधानमन्त्री शाह आफैं महासभामा सहभागी हुने तयारी अघि बढाइएको उच्च स्रोतले जनाएको छ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको भ्रमण छोटो हुने र प्रतिनिधिमण्डललाई समेत सानो बनाउने तयारी छ।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनाललाई महासभामा सहभागी गराउने निर्णय गरेको थियो। तर, भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालको पछिल्लो अवस्था अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री आफैं महासभामा सहभागी हुनुपर्ने आवाज उठेको थियो।
संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्र भदौ २२ गतेदेखि सुरु हुँदैछ। महासभाअन्तर्गतको उच्चस्तरीय बहस भने असोज ६ गतेदेखि सुरु हुने कार्यक्रम छ।
महासभामा प्रधानमन्त्री शाह सहभागी भएमा चैत १३ गते प्रधानमन्त्रीको पद सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नेपालमा पछिल्लो समय देखिएको बाढीपहिरो तथा जलवायुजन्य विपद्, विपद् व्यवस्थापन, जलवायु वित्त र नेपालको समसामयिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा राख्ने सम्भावना छ।
प्रधानमन्त्रीको भ्रमणको औपचारिक निर्णय तथा प्रतिनिधिमण्डलको अन्तिम टुंगो भने सरकारले गर्नेछ।










Discussion about this post