भद्रपुर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि झापा गाउँपालिकाले २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। राहत तथा पुनःस्थापनाको कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम संकलन गरी कोषमा पठाउने निर्णय गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन्।
गाउँपालिकाका अनुसार सहयोग रकममध्ये विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ उपलब्ध गराइनेछ।
त्यस्तै, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार रुपैयाँ, कर्मचारीबाट ७ लाख ३८ हजार ६७९ रुपैयाँ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ रुपैयाँ संकलन गरिनेछ।
यसरी संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित परिवारको पुनःस्थापनामा समेत सहयोग आवश्यक रहेको भन्दै गाउँपालिकाले आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो।










Discussion about this post