पिथौरागढ । भारत र नेपालले सीमा सुरक्षा, सुरक्षा निकायबीचको समन्वय, सूचना आदानप्रदान, अपराध तथा तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सहकार्य थप प्रभावकारी बनाउने सहमति गरेका छन्।
भारतको पिथौरागढस्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत–नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रमा देखिएका सुरक्षा चुनौती तथा दुई देशबीचको समन्वयलाई थप मजबुत बनाउने विषयमा छलफल भएको हो।
बैठकमा भारततर्फबाट पिथौरागढ जिल्ला प्रशासनका अधिकारी तथा नेपालतर्फबाट बैतडी र दार्चुलाका प्रशासनिक अधिकारी सहभागी थिए। पिथौरागढका जिलाधिकारी आशिष भटगाईंले सीमा सुरक्षा र समन्वयका विषयमा भारतको धारणा प्रस्तुत गरेका थिए।
नेपालका तर्फबाट बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले सीमावर्ती क्षेत्रमा देखिएका समस्या, सुरक्षा चुनौती तथा दुई देशबीच थप सहकार्य आवश्यक रहेका विषयमा धारणा राखेका थिए।
सुरक्षा निकायबीच सूचना आदानप्रदानमा जोड
बैठकमा सीमा क्षेत्रमा खटिने नेपालका सुरक्षा निकाय, भारतीय सशस्त्र सीमा बल (एसएसबी), प्रहरी, भन्सार तथा अन्य सम्बन्धित निकायबीच नियमित र प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको छ।
सीमा क्षेत्रमा देखिने शंकास्पद गतिविधिबारे तत्काल सूचना आदानप्रदान गर्ने, सीमापार आवतजावत गर्ने व्यक्तिको पहिचान तथा आवश्यक कागजात जाँचलाई व्यवस्थित बनाउने विषयमा दुवै पक्षले जोड दिएका छन्।
त्यसैगरी, सीमावर्ती क्षेत्रमा हुने लागुऔषध तस्करी, अवैध सामग्रीको ओसारपसार तथा वन्यजन्तुजन्य वस्तुको अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायबीच सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो।
अपराधमा संलग्न व्यक्तिहरूबारे आवश्यक सूचना आदानप्रदान गरी सम्बन्धित कानुनअनुसार कारबाही अघि बढाउने तथा सीमा क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउने सहमति भएको जनाइएको छ।
विपद्का बेला तत्काल समन्वय
बैठकमा बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा दुवै देशका सम्बन्धित निकायबीच तत्काल सूचना आदानप्रदान तथा आवश्यक सहयोग गर्ने विषयमा समेत सहमति भएको छ।
सीमावर्ती क्षेत्रमा कुनै विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा समयमै जानकारी गराउने र उद्धार तथा राहतका काममा आवश्यक समन्वय गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
सीमा पुलको सुरक्षा र मर्मतमा पनि छलफल
भारत–नेपाल जोड्ने झोलुंगे पुललगायत सीमावर्ती महत्वपूर्ण संरचनाको नियमित अनुगमन, सुरक्षा तथा मर्मतसम्भारका विषयमा पनि बैठकमा छलफल भएको थियो।
सीमा क्षेत्रमा आवतजावत सहज बनाउन झोलुंगे पुलको सञ्चालन समय बढाउने विषयमा समेत छलफल भएको र पुललाई साँझ ७ बजेसम्म खुला राख्ने प्रस्तावमा समर्थन जनाइएको बताइएको छ।
बैठकमा पिथौरागढका प्रहरी अधीक्षक अक्षय प्रह्लाद कोण्डे, प्रभागीय वन अधिकृत आदित्य रत्न, अपर जिलाधिकारी योगेन्द्र सिंहलगायत भारत र नेपालका सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकले सीमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न तथा दुई देशबीचको परम्परागत सम्बन्धलाई थप प्रभावकारी बनाउन नियमित समन्वय र सूचना आदानप्रदानलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।










Discussion about this post