काठमाण्डौ — म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो । एक हप्तादेखि १० दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो ।
रघुगङ्गा –४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ । तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम सकेर जडान भएका उपकरणहरुको परीक्षण थालिएको हो ।
आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युतगृह परिसरमा निर्माण भएको स्विचयार्ड गएकाे जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ठेक्का सम्झौता गरेको थियो ।
सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न हुन लागेको हो । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो ।










Discussion about this post