गएरातिदेखि आज बिहानसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा मापन गरिएको छ।
महाशाखाका अनुसार कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रुपन्देहीमा तुलनात्मक रूपमा बढी वर्षा भएको छ।
आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।










Discussion about this post