हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर खेतमा धान रोप्दै र दही–चिउरा खाएर मनाइँदैछ।
असारको व्यस्त खेतीपातीको समयमा खेतमा काम गरेर थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही–चिउरा खाने परम्परा रहिआएको छ। गर्मीयाममा दही–चिउराले शरीरलाई शीतलता प्रदान गर्नुका साथै ऊर्जा दिने विश्वास गरिन्छ। यही कारण असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रूपमा पनि मनाउने गरिन्छ।
खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा संलग्न नेपालीहरूले पनि आज दही–चिउरा खाएर असार १५ मनाउने परम्परा कायम राखेका छन्।
नेपाल सरकारले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। कृषिप्रधान मुलुक नेपालमा अधिकांश नागरिकको जीविकोपार्जन खेतीपातीमा निर्भर रहेकाले असार महिना किसानका लागि सबैभन्दा व्यस्त समय मानिन्छ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा रमाएर धान रोप्ने परम्परा छ। नेपाली समाजमा असारमा एकपटक हिलोमा पस्नैपर्ने सांस्कृतिक मान्यता पनि रहिआएको छ।
तर, यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा नभएकाले अपेक्षित मात्रामा धान रोपाइँ हुन सकेको छैन। केही स्थानमा रासायनिक मलको अभावको गुनासोसमेत किसानले गरेका छन्।
यद्यपि, कृषि, वन तथा वातावरण मन्त्रालयले भने देशभर पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ।










Discussion about this post