कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता अच्युतराज कलौनीको अन्त्येष्टि गरिएको छ । काँग्रेस भीमदत्त नगरका सभापति कलौनीको सोमबार दिउँसो महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । कनौली परिवारले हिन्दु संस्कार अनुरूप मृतक कलौनीको पार्थिव शरीर महाकालीमा अन्त्येष्टि गरेका छन् ।
शनिवार भीमदत्त नगरपालिका १८ मामाभान्जा चोक सडक पेटीमा मृत भेटिएका कलौनीको फोरेनसिक मेडिसिन विज्ञ डा. अरबिन शाक्य नेतृत्वको चिकित्सकको टोलीले पोष्टमार्टम गरेको थियो ।
पोष्टमार्टमपछि घर, विद्यालय बैजनाथ मावि र पाटी कार्यालयमा श्रद्धाञ्जली पछि अन्त्येष्टि गरिएको हो । अच्युतराज कनौली कञ्चनपुरको चर्चित नाम हो । जस्तो नाम चर्चित उस्तै उनी अस्ताएका छन् । शनिवार एका बिहानै उनी मृत फेलाको खबरले जिल्लादेखि केन्द्रसम्म सनसनी मच्चियो । घरदेखि उत्तर झन्डै ५-६सय मिटरको दुरी सडक पेटीमै मृत फेला परेका ४२ बर्षिया कलौनीको मृत्युको खबरले नगर सहित जिल्ला शोकाकुल भएको छ ।
मध्य जीवनमै हिँड्दा हिँड्दै बिलाएका कलौनीको मलामीमा गृहमन्त्री रमेश लेखक, पूर्व मन्त्री प्रकाश रावल, भीमदत्त नगरका मेयर पदम बोगटी सहितका काँग्रेस सहितका अन्य सहकर्मी राजनैतिक दलका हजारौँ नेता कार्यकर्ताहरूको उपस्थितिमा अन्तिम बिदाइ गरिएको छ ।

अस्पतालदेखि घरघरदेखि विद्यालय, पाटी कार्यालय हुँदै घाटसम्मै हजारौँ जनसागरको उपस्थितिमा कलौनीको बिदाइ गरिएको हो । घरपरिवारदेखि घाटसम्मै हृद्यविधारक अवस्थाबाट उनको बिदाइ गरिएको छ । विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा तल्लीन रहेका कनौली विद्यार्थीमाझ लोकप्रियता पछि पाटी राजनीतिमा होमिएका कनौली नेपाली काँग्रेस भीमदत्त नगरको सभापति हुन् ।
नेवी सङ्घको केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी निर्वाह गरेका उनी काँग्रेसको १४औँ महाधिवेशनबाट भीमदत्त नगर पाटी कमान्डरको जिम्मेवारी पाएका कनौली पाटीको कामकाज मात्रै नभई सामाजिक काममा समेत उत्तिकै खटिएका थिए । राज्यको लगानीमा सञ्चालनमा रहेका सामुदायिक विद्यालय सुधारको योजना अघि सार्दै जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनी विद्यालयदेखि अन्य साथीभाइकै काम विशेषले शुक्रवार धनगढी गएका थिए ।

धनगढीबाट राती ९ बजेतिर महेन्द्रनगर पुगेका कनौली छाती दुखेको भन्दै पैदलै महाकाली अस्पताल पुगेर घर फर्किने क्रममा घर नपुग्दै बिचबाटैमा अस्ताएका छन् । भीमदत्त नगरपालिका १८कटान मामाभान्जा चोक सडक पेटीमै मृत भेटिएका कलौनीको घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । कनौली सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
