कञ्चनपुर – कञ्चनपुर बेलडाँडीका निजी स्रोतका शिक्षक आन्दोलित भएका छन् । बेलडाँडी पालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक आन्दोलित भएका हुन । उनीहरूले स्थानीय सरकारले आफुहरूमाथि विभेद गरेको भन्दै धर्नामा बसेका छन् ।
निजीस्रोत शिक्षक सङ्घर्ष समितिले तीन सुत्रिय माग अघि सारेर आन्दोलनमा उत्रिएको हो । सामुदायिक विद्यालयका लागि अनुदान कार्यविधी ०८० तत्काल संशोधन गरिनुपर्ने, निजीस्रोतका शिक्षक माथिको विभेद पूर्ण हटाउनुपर्ने, निजीस्रोतका शिक्षकको तहगत तलब कायम गर्नुपर्ने माग अघि सारेर धर्नामा बसेका हुन् । निजी स्रोतका शिक्षक कर्मचारीहरूले तीन दिनदेखि स्थानीय सरकार विरुद्धमा पालिका कार्यालयमा धर्नामा बसेका हुन् ।
निजी स्रोतका शिक्षक अगुवा जानकी महराले पालिकाले शिक्षक, कर्मचारीको तलब, भत्ता दिने विषयमा विभेद गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताइन् । ‘समान कामका लागि पालिकाबाट हामीमाथि अन्याय भएको छ, ‘उनले भने, ‘त्यही भएर बाध्य भएर आफ्नो अधिकारका लागि आन्दोलित भएका छौँ ।’ बेलडाँडी गाउँपालिका स्तरीय निजीस्रोतका शिक्षक सङ्घर्ष समितिका सचिव महेश्वरी बमले स्थानीय सरकारले आफुहरुमाथि विभेद अन्याय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताइन् ।
‘सरकारी संस्थामै कार्यरत हुँदा पालिकाबाटै यस्तो विभेद अन्याय खेप्नुपर्ने भयो, ‘उनले भने, ‘अन्याय विरुद्धमा हामी बाध्य भएर आन्दोलनमा आएका छौँ ।’ माग पुरा नहुँदासम्म धर्ना निरन्तर जारी राख्ने निजी स्रोतका शिक्षकको चेतावनी छ । बेलडाँडी गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दशैँ भत्ता सहित निजी स्रोतका शिक्षक कर्मचारी बाहेक अन्य स्थायी, राहत, करार, अनुदान, बाल विकास एव विद्यालय कर्मचारीको तलब सिधै व्यक्तिको बैङ्क खातामा भुक्तानी गरेको थियो ।
तर, निजी स्रोतका शिक्षक, कर्मचारीको भुक्तानी नगरिएपछि पनि उनीहरु पालिका विरुद्धमा चिढिएर आन्दोलनमा उत्रिएका छन । बेलडाँडी गाउँपालिकाले निजी स्रोतका शिक्षक कर्मचारीहरूको मागको हकमा छलफल गरेर अघि बढ्ने जनाएको छ । बेलडाँडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐरले यस अघि निर्माण भएको कार्यविधी अनुरूप आधारभूत साविक प्रावि १४ हजार, निमावि १६ हजार, मावि १८ हजारका दरले तलब निर्धारण गरिएको बताए । ‘उक्त कार्यविधीप्रति उहाँहरूको असन्तुष्ट छ, ‘उनले भने, ‘कार्यविधी संशोधनको माग बारे सरोकारवालाबीच छलफल गरेर अघि बढ्छौँ ।’ निजी स्रोतका शिक्षकसँग लिखित रूपमै माग पेश गर्न समेत उनले आग्रह गरेका छन । दशैँकै मुखमा शिक्षक पालिका सरकार विरुद्धमा आन्दोलित भएपछि शिक्षा एव समाजिक क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ ।