कञ्चनपुर – कार्तिक १ गतेदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा रामलीला हुने भएको छ । कोजाग्रत पूर्णिमादेखि खुला मञ्चमा भगवान रामचन्द्रको जीवनमा आधारित रामलीला हुने भएको हो ।
रामलीला समिति कञ्चनपुरको आयोजनामा यस पटक १२ औँ रामलीला महोत्सव हुन लागेको छ । रामलीला समिति कञ्चनपुरका अध्यक्ष समरजङ्ग बहादुर चन्दले रामलीलाको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘कलाकारदेखिका आवश्यक तयारी हामीले पुरा गरिसकेका छौँ, ‘उनले भने, ‘महिनौँ अघिदेखि रामलीलाको तालिममा जुटेका थियौँ ।’ समाजिक सद्भाव, धर्म, संस्कृति संरक्षण गर्दै समाजलाई सही मार्गको डोर्याउने उद्देश्यले रामलीला सञ्चालन गर्न लागेको अध्यक्ष चन्दले बताए ।
अध्यक्ष चन्दले सबै पक्षको सद्भावका बिच रामलीला सफल हुने बताए । उनले रामको जस्तै आदर्श पुरुष निर्माणगर्नका लागि रामलीला मञ्चन गरिरहेको बताए । रामलीला समिति कञ्चनपुरका महासचिव नरेन्द्रराज जोशीले नेपाली तथा सुदूरपश्चिमेली भाषामा रामलीलाका दृश्य हुने बताए । ‘हामीले विगतदेखि आफ्नै नेपाली तथा सुदूरपश्चिमेली भाषामा रामलीला सञ्चालन गर्दै आएका छौँ, ‘उनले भने, ‘यस पटक पनि हामीले सो अभ्यास गछौँ ।’ विगतमा रोकिएको रामलीला ०७२ नयाँ संविधान निर्माणदेखि यता निरन्तर गरिरहेको उनले बताए । रामलीलाको सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक डा. भुपेन्द्र सिह विष्टले निर्देशन गर्दैछन् ।
रामलीला प्रेमी समेत रहेका विष्टले आफ्नै नेपाली मौलिकपन लयमा रामलीला हुन लागेको बताए । ‘कतिपय हामी नेपाली, सुदूरपश्चिमेली भाषामै मञ्चन गछौँ, ‘उनले भने, ‘अब हामीले रामलीला हाम्रै भाषामा अघि बढाउनुपर्छ ।’ संगित, साहित्य आफ्नै पनको हुने उनले बताए ।
रामलीला समितिका कोषाध्यक्ष विष्णुदत्त भट्टले रामभक्तबाटै आर्थिक सहयोगबाट रामलीला सञ्चालन हुने बताए । रामलीला समितिका संयोजक एव बरिष्ठ व्यवसायिक समाजसेवी लक्ष्मी पाण्डेले विगतको भन्दा यस वर्ष अझै पुरस्कृत बनाइने बताए ।
समाजमा धर्मसंस्कृति, सद्भाव, भाइचाराको भावना हराइरहेका बेला जिल्ला सदरमुकाम महेन्द्रनगर खुला मञ्चमा लाग्ने रामलीलाले केही टेवा पुग्ने आयोजकको दावी छ । हरेक वर्ष खुला मञ्चमा रामलीला लाग्न थालेपछी रामलीलाका दर्शकहरूलाई समेत सहज सुविधा भएको छ ।