कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ् विद्यार्थी समाजको आयोजनामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ। हिन्दूहरूको महान चाड दशैं तथा दिपावलीको अवसरमा सेमेस्टर स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको इन्जिनियरिङ् विद्यार्थी समाजका अध्यक्ष जनक सिह धामीले जानकारी दिएका छन्।
प्रतियोगितामा सुदूरपश्चिम विश्व विद्यालयमा अध्ययनरत सबै सङ्कायका विद्यार्थीहरूले सहभागी हुन सक्ने अध्यक्ष धामीले बताएका छन्। प्रतियोगिताका लागि असोज १३ गतेसम्म टिम दर्ता गर्न सकिने प्रतियोगिताका संयोजक सुवास महराले जानकारी दिएका छन्। प्रतियोगिताको लागि दर्ता शुल्क रू ५ सय रहेको संयोजक महराले बताएका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार रू ९९९९ नगद सहित मेडल र प्रमाण पत्र र द्वितीय पुरस्कार रु ४९९९ नगद सहित मेडल र प्रमाण पत्र रहेको समाजका महासचिव किरण भट्टले जानकारी दिएका छन्। साथै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाण पत्रले सम्मान गरिने आयोजकले जनाएको छ।
इन्जिनियरिङ् विद्यार्थी समाजका अध्यक्ष जनक सिह धामीले खेलको स्तर बढाउने उद्देश्यले पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए। साथै उनले सुदूरपश्चिम विश्व विद्यालयमा अध्ययनरत सबै सङ्कायमा अध्ययनरत विद्यार्थीहरूलाई खेलमा सहभागि हुन आग्रह समेत गरेका छन्।