कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका -०८ नम्बर वडाको बैजनाथ टोलमा खुला देउडा कार्यक्रम सम्पन्न भएको छ। नव प्रगतिशील बैजनाथ सामुदायिक पुस्तकालय महिला उप तदर्थ समितिको आयोजना एवम् वेदकोट नगरपालिका -०८ को समन्वयमा खुला देउडा कार्यक्रम आयोजना गरिएको थियो।
पुस्तकालयको स्थापना प्रचारप्रसारका साथै सुदूरपश्चिमेलीहरूको लोक संस्कृति संरक्षणका लागि आयोजना गरिएको खुला देउडा प्रतियोगितामा जे आर भट्ट, लक्ष्मण कलौनी लगायतका देउडियाहरू सहभागि भएका थिए।
सोमबार प्रतियोगिताको समापनसंगै देउडा प्रतियोगितामा सहभागि देउडियाहरूलाई सम्मान पत्र प्रदान गरिएको वेदकोट नगरपालिका -०८ का वडाध्यक्ष महेश जोशीले बताउनुभयो। साथै यो प्रतियोगिताले ग्रामीण भेगको पुस्तकालय स्थापनार्थदेखि सुदूरको लोक संस्कृति, देउडा खेल संरक्षणका लागि टेवा पुग्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले यस्ता प्रतियोगिताहरूले सुदूरपश्चिमको लोक संस्कृति तथा देउडा खेल संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो। कला संस्कृति र चाड पर्वलाई संरक्षण र जगेर्ना गर्न तथा हाम्रो पहिचान जोगाइराख्नका लागि नयाँ पुस्ता जागरुक हुनुपर्ने अर्थात सक्रियता नयाँ पुस्ताको नै बढ्नुपर्ने उहाँले बताउनुभयो।
साथै उहाँले वेदकोट -०८ ले सुदूरपश्चिमको कला संस्कृति जोगाउन आयोजना गरिएको कार्यक्रममा सम्मानित हुने सम्पूर्णलाई बधाई दिँदै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो।
Discussion about this post