कञ्चनपुर – प्रेस सेन्टर कञ्चनपुरले आफ्ना सङ्गठनका सदस्य रहेका आचार्य कृष्ण दमाईलाई सोमबार महेन्द्रनगरमा सम्मान तथा स्वागत गरेको छ। पशुपतिनाथमा सञ्चालन भइरहेको कोटीहोम महायज्ञमा आचार्य दमाईले दिनुभएको प्रवचनले नेपाली समाजमा दिएको सन्देश र उनले पाएको उपलब्धिका लागि सम्मान तथा बधाई दिइएको हो।
सोमबार महेन्द्रनगरमा प्रेस सेन्टर कञ्चनपुरका जिल्ला अध्यक्ष अरुण भट्टले उनलाई सम्मान तथा बधाई ज्ञापन गर्दै सङ्गठनका तर्फबाट उनले नेपाली समाजमा छाडेको सकारात्मक सन्देशका लागि बधाई दिनुभएको छ।
अध्यक्ष भट्टले आचार्य दमाईलाई दोसल्ला तथा खाँदा ओडाई सम्मान गर्दै, ‘हाम्रो समाजमा दलित समुदायमाथि हुने गरेको विभेदका विरुद्ध सङ्गठनले फरक ढङ्गले उठाउँदै आएको सन्देशलाई कृष्ण दमाईले आफ्नो योग्यता र क्षमता मार्फत सकारात्मक सन्देश छाडेको छ । यसले दलित बर्गमाथि हिन्दु सोच परम्परामा व्यापक बहससहित परिवर्तन गर्ने छ ।’ भन्दै, अध्यक्ष भट्टले प्रेस सेन्टरका सदस्यले गरेको यो उपलब्धिका लागि खुसी व्यक्त गर्दै बधाई दिनुभयो।
पुर्ख्यौली घर बैतडी भएका कृष्ण दमाईले पशुपतिनाथमा सञ्चालित कोटीहोम महायज्ञमा प्रवचन दिएपछि सामाजिक सञ्जाल रङ्गिनुका साथै विभिन्न मिडियाहरूका ब्यानर न्युज, कभर स्टोरी मात्र बनेका छैनन् , बौद्धिक र प्रगतिशील तप्काहरूमा छुवाछूत विरुद्धको ऐतिहासिक क्रान्ति गरेको समीक्षा सहितको बहस चलिरहेको छ।
आचार्य कृष्ण दमाई पत्रकारितासँगै शिक्षण पेशामा पनि आबद्ध रहेका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित नयाँ जनक्रान्ति दैनिकमा आबद्ध पत्रकार दमाईको स्थायी घर भीमदत्त नगर पालिकामा रहेको छ। उनले संस्कृत विश्वविद्यालयबाट संस्कृत व्याकरणमा आचार्य गरेका हुन्। अहिले कोटीहोम महायज्ञबाट आचार्य कृष्ण दमाईले दिएको सन्देश र उनले पाएको उपलब्धिमा विभिन्न व्यक्ति सङ्घसंस्थाहरूले उनलाई सम्मान तथा बधाई दिइरहेका छन् ।