सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संञ्जिवनी नेपालद्वारा भीमदत्तमा वृक्षारोपण अभियान शुरु

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा वृक्षारोपण अभियान शुरु गरिएको छ । संञ्जिवनी नेपालले भीमदत्त नगरपालिकामा वृक्षारोपण अभियान शुरु गरेको हो । मङ्गलबारदेखि सञ्जीवनी नेपालले भीमदत्त नगर २ नम्बर वडा उल्टाखामदेखि वृक्षारोपण गरेर अभियान शुरु गरेको छ । सञ्जीवनी नेपालकी कार्यकारी निर्देशक नितु भट्टले सुदूरपश्चिम पैरवी सञ्जाल मार्फत जलवायु परिवर्तनका असर न्यूनिकरण र कार्बन उत्र्सजन कम गर्नका लागि भीमदत्त नगरमा अभियानकै रुपमा वृक्षारोपण गरिएको बताइन ।

सञ्जीवनी नेपालकी निर्देशक भट्टले पहिलो चरणमा ६ वडाहरूमा वृक्षारोपण गरिने बताइन । ‘हामीले वडाका जनप्रतिनिधिसँग समन्वय गरेर भावी दिनमा समेत वृक्षारोपण गरिएका बिरुवाको दिगोपना हुने गरी सार्वजनिक स्थलमा रोपेका छन्, ‘उनले भनिन, ‘अहिले रोपिएका बिरुवा रोप्नका लागि मात्रै नभई भविष्यमा समेत काम लाग्ने गरेर वृक्षारोपण गरेका छौँ ।’ उनका अनुसार वडाहरूमा रहेका महिलाको पैरवी सञ्जालका महिला अघि सारेर वृक्षारोपण गरिनेछ ।

बेल, जामुन, मोरिङ्गका, अमला, पारिजात लगायतका विभिन्न प्रजातिका ५०/६० बिरुवा रोपिएका छन । ‘पछिल्ला वर्षहरूमा जलवायुको असर कञ्चनपुर भीमदत्त नगरमा पनि परेको छ, ‘उनले भनिन, ‘विपद्कै बेला योजना ल्याउनु भन्दा विपद् न्यूनिकरण र विपद्बाट क्षति रोक्नका लागि हामीले अहिलेदेखि नै वृक्षारोपण अभियान गरेका छौँ, यस अभियानमा जनप्रतिनिधिदेखि स्थानीय महिला जोडेर दिगोपन बनाउने सङ्कल्प छ ।’ सञ्जीवनी नेपालका समाजिक परिचालक दीपक राज जोशीले आगामी भदौभित्रै नगरभरीका १९ वटै वडाहरूमा झण्डै एक हजार भन्दा बढि बिरुवा वृक्षारोपण गरिने बताए । उनले पहिलो चरणमा ६ वडा त्यसपछि बाँकी वडाहरूमा स्थानीय जनप्रतिनिधिसँग प्रत्यक्ष समन्वय गरेर स्थान यकिन गरेर रोपिने छ ।

१६ साउनमा भीनपा ८ भम्केनी धाम, १७ साउन भीनपा ११ महाकाली नदी किनार क्षेत्र, १८ साउन भीनपा १० जिमुवा, १७ साउन भीनपा १२ र १७ वडाका सार्वजनिक स्थलमा गरिनेछ । वडामा रहेका महिला पैरवी सञ्जालले अहिले रोपिएका बिरुवाको संरक्षण, प्रर्वद्धन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सञ्जीवनी नेपालले पृथ्वी संरक्षणमा महिला नामक कार्यक्रम मार्फत समेत महिलाका क्षेत्रमा कामकाज गर्दै आएको छ । भीमदत्त नगरपालिका २ का वडाध्यक्ष उत्तम भट्टले वृक्षारोपण अभियानले जलवायुमा आइरहेको परिर्वतन न्यूनिकरणमा टेवा पुग्ने बताए । वडाध्यक्ष भट्टले अहिले रोपिएका बिरुवाको वडाबाट समेत संरक्षण, सम्वर्द्धन गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds