कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा रहेको ब्रिक्सटन कलेजमा एमबीए र बीसीएको पठनपाठन हुने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भीमदत्त नगरपालिका -०४ महेन्द्रनगरमा रहेको ब्रिक्सटन कलेजमा एमबीए र बीसीएको पठनपाठन हुने भएको हो । पोखरा विश्वविद्यालयले अनुमति दिएपछि यसै वर्षदेखि स्नातक र स्नातकोत्तर तहमा यी दुई सङ्कायको पठनपाठन सञ्चालन हुने कलेजले जनाएको छ । कलेजमा सन् २००९ देखि बीबीए पठनपाठन गरिएको थियो ।
ब्रिक्सिटन कलेजका प्रिन्सिपल डा. भोजराज पन्तले पोखरा विश्वविद्यालयको अनुमति दिएपछि चालु बीबीए र बीसीएको पठनपाठन सुरु गरिने बताए । ‘पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए सञ्चालन गर्दै आएका छौ, यस वर्ष थप दुई नयाँ कार्यक्रम एमबीए र बीसीए सञ्चालनको अनुमति पाएका छौ’ कार्यक्रममा प्रिन्सिपल पन्तले भने,‘त्यस अनुसार कार्यक्रम औपचारिक रुपमा लञ्च गरेका छौ ।’ प्रिन्सिपल पन्तले नयाँ कार्यक्रमले सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूलाई बीबीए र बीसीए अध्ययनका लागि सहज हुने विश्वास व्यक्त गरेका छन ।
पोखरा विश्वविद्यालयको व्यवस्थापन सङ्कायका डीन प्राडा दयाराम ढकालले भिडियो अन गरी दुबै सङ्कायको उद्घाटन गरेका छन् । डीन ढकालले विश्वविद्यालयले व्यवस्थापन सङ्कायको पाठ्यक्रम परिवर्तन गर्न लागेको बताए । स्नातक र स्नातकोत्तर तह दुवैमा पाठ्यक्रम संशोधन हुने डिन ढकालले बताए । ‘मैले डीनको जिम्मेवारी सम्हालेपछि टिभी अन्तरवार्तामा भनेको थिए, एसिया, दक्षिण एसिया जस्तो बनाउन नसकेपछि नेपालमा भने नम्बर वान बनाउँछु भनेर, त्यस अनुसार कोर्ष अपडेट गर्दैछौ’ उनले भने,‘बेचलर र मास्टर्स दुवैमा कोर्ष चेन्ज हुन्छ ।’ विश्वविद्यालयका डीन ढकालले विद्यार्थीहरूको जीवन सफल बनाउने उद्देश्य राखेर पाठ्यक्रम परिवर्तन गर्न लागिएको बताए । ‘जीवनलाई कसरी सफल बनाउने भन्ने ध्येय राखेर नै कोर्ष बनाइएको छ, जीवन कसरी सफल बनाउन सकिन्छ, त्यसमा केन्द्रित गरुेका छौ’ उनले ‘विद्यार्थीलाई कर्मजीवि बनाउनु, मानवताको व्यवहार गर्न सक्ने बनाउनु र रिसर्च गर्न सक्ने क्षमताको जनशक्ति उत्पादन गर्न चाहन्छौ ।’
कलेजका पूर्व प्रिन्सिपल तथा सल्लाहकार निशा भट्टले स्वागत मन्तव्य राख्दै कलेजले समय सापेक्ष सुहाउँदै शिक्षा प्रदान गर्दै आएको बताइन । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका ब्रिक्सटन कलेजका अध्यक्ष डा. नेत्रराज चटौतले अध्यक्ष चटौतले प्रतिस्पर्धी र विश्वको माग अनुसारको जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको बताए । कार्यक्रममा पोखरा विश्वविद्यालय डिन सहितका पदाधिकारी, पोखरा सुप, विश्वविद्यालयका अन्य सम्बन्धन कलेजका सञ्चालक एवम् प्रिन्सिपल, बैङ्कर, प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।