कञ्चनपुुर - कञ्चनपुरको कृष्णपुरका किसान तरकारी, चैतेधान र मुङखेती तर्फ उन्मुख भएका छन । कृष्णपुर नगरपालिका ग्रामीण भेगका किसान व्यवसायिक तरकारीखेती, चैतेधान र मुङखेती तर्फ उन्मुख भएका हुन् । पहिल्यैदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले अहिले थप परिमाण बढाएका छन । अन्य किसानहरूले समेत चैतेधान र दालका लागि मुङखेती गरिरहेका छन् ।
व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले थप क्षेत्र विस्तार गर्दै मौसमी बेमौसमी तरकारी खेती गरिरहेका छन । कृष्णपुर नगरपालिका ६ बालुवाफाँटाका किसान हरिराम डगौराले व्यवसायिक तरकारी खेती गरेको बषौँ भइसकेको छ । उनले हाल झण्डै अढाई बिगाहा जमिनमा तरकारी खेती गरेका छन । कृष्णपुर ६ का वडा सदस्य समेत रहेका रमेश डगौराले समेत एक बिगाहा जमिनमा व्यवसायिक तरकारी खेती गरेका छन । उनले राजनीति, समाजसेवासँगै तरकारी खेती पहिल्यैदेखि शुरु गरेको र अहिलेपनि निरन्तर गरेको बताए ।
तरकारी खेतीको हबकै रुपमा रहेको कृष्णपुर ६ वडामा थुप्रै किसानको घरखर्चदेखि स्वरोजगार तरकारी खेती नै रहेको छ । कृष्णपुर -०६ का वडाध्यक्ष बाबुराम चौधरीले झण्डै ६० प्रतिशत किसान तरकारी खेतीतर्फ उन्मुख भएको बताए । राम्रो आम्दानी भएपछि स्थानीय किसान व्यवसायिक रुपमा तरकारी खेती तर्फ उन्मुख भएको वडाध्यक्ष चौधरीको भनाई छ । कृष्णपुर ६ बसन्तपुरकी स्थानीय महिला किसान मुनादेवी भट्टले दालखेतीका लागि यस वर्ष ५ कट्टा जमिनमा तरकारी खेती गरेकी छिन् । उनले बजारबाट किनेर खानु भन्दा धानखेती पछि खाली रहेको जमिनमा मुङखेती गरेको बताइन । उनले नगरपालिकाबाट बिउ पाएपछि मुङखेती गरेको बताइन ।
बसन्तपुरकै अर्की किसान माया ठगुराठीले पनि गहुँखेती पछि खाली रहेको जमिन सदुपयोगका लागि चैतेधान खेती गरेको बताइन । उनले यस वर्ष चेक गर्नका लागि ४ कट्टामा मात्रै चैतेधान खेती गरेको बताइन । ‘मैले पालिकाबाट बिउबिजन पाएपछि पहिलो पटक चैतेधान खेती गरेकी छु, धानमा पनि बाला लागिसकेका छन, यस बर्ष राम्रो भए भावी दिनमा पनि खेती गर्छु ।’ कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लाल बहादुर धामीले पालिकाबाट तरकारीखेती, चैतेधान र मुङ खेतीमा अनुदान एव बिउबिजन वितरण गरेपछि किसान व्यवसायिक रुपमा खेतीतर्फ आकर्षित भएको बताए ।
उनका अनुसार ८० प्रतिशत अनुदानमा खेतीका लागि धैचाको बिउ समेत वितरण गरिएको छ । झण्डै हजार क्विन्टल धैचाको बिउ ५९ किसानलाई वितरण गरिएको बताउँदै साढे १६ हेक्टर जमिनमा धैचाखेती गरिएको छ । ‘यो धैचाखेतीले माटोको उर्बराशक्ति बढाउँछन्, ‘उनले भने, ‘माटो बलियो बनाउने काम गरेको छ, यसबाट अन्नबाली खेती वृद्धि हुन्छ ।’यस वर्ष मात्रै ७७ किसानलाई १ हजार ६२० किलो चैतेधानको बिउ वितरण गरेर २७ हेक्टर जमिनमा चैतेधान खेती र ४ सय १२ किसानलाई ६ सय ४० किलो मुङको बिउ वितरण गरेर साढे १६ हेक्टर जमिनमा मुङखेती गरिएका छ ।
कृष्णपुरका मेयर हेमराज ओझाले नगरको ग्रामीण बस्तीका किसानलाई तरकारी सहितका वैकल्पिक अन्नबालीमा आत्मनिर्भर बनाउनेदेखि व्यवसायिक रुपमा कृषि व्यवसाय विस्तारका लागि पालिकाले अनुदान एव कृषि प्रर्वद्धनका कार्यक्रम ल्याएको बताए । ‘हामीले पालिबाट किसानका लागि सक्दो अनुदानका कार्यक्रम सञ्चालन गरेका छौँ, ‘उनले भने, ‘कृषिमा समेत थुप्रै सम्भावना भएकाले व्यवसायिक तरकारी खेती तर्फ किसान आकर्षितका योजना अघि सारेका छौँ ।’
भावी दिनमा समेत पालिकाले कृषि उत्पादन बजारीकरणको सुनिश्चितताका साथै कृषि एम्बुलेन्स मार्फत किसानलाई थप सेवा सुविधा उपलब्ध गराउने योजना रहेको बताए । ‘नगरका जनतालाई व्यवसायिक कृषिखेतीमा उन्मुख गराएर स्थानीय स्तरमै रोजगारीका कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य हो, ‘मेयर ओझाले भने, ‘सोही अनुरूप हामीले निरन्तर कृषिलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएका छौँ ।’ ग्रामीण अर्थतन्त्रको आधार कृषि पनि भएकाले पालिकाले कृषि व्यावसायिकरणका योजनामा किसान जोड्दै जाने मेयर ओझाको भनाई छ ।