कञ्चनपुर – बेलडाँडीका किसानको सुविधाका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना हुने भएको छ । बेलडाँडी गाउँपालिका वडा नं २ को गौडीमा चिस्यान केन्द्र स्थापना गरिन लागेको बेलडाँडी गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा कृषि उत्पादनमा बढावा दिन र फलफूल तथा तरकारी भण्डारणका लागि पालिकामा चिस्यान केन्द्र स्थापना गर्न लागिएको बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले जानकारी गराउनु भयो ।
उहाँका अनुसार आज आइतबार औपचारिक कार्यक्रमका बिच संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिह बिष्टले चिस्यान केन्द्रको उद्घाटन गरेको जनाए । पालिका स्तर राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीयवासी, निर्माण व्यवसायी सञ्चारकर्मी लगायतको उपस्थितिमा चिस्यान केन्द्रको शिलान्यास गरिएको हो ।
बेलडाँडी क्षेत्रमा हुने उत्पादित वस्तु बिक्री वितरण तथा भण्डारणका लागि कोल्डस्टोर निर्माण गर्ने निर्णय बेलडाँडी गाउँपालिकाको १३ औं गाउँसभाले पास गरे अनुरूप पालिकाले ६९ लाख, ६१ हजार छ रुपैयाँ बीस पैसामा निर्माण कार्य सक्ने गरी गणेश निर्माण सेवा बेलौरीसँग सम्झौता गरेको अध्यक्ष रानाले जनाए । चिस्यान केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल नष्ट नहुने बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले कोल्डस्टोर निर्माण भएर सञ्चालनमा आएपछि कृषकको उत्पादन खेर नजाने र कृषकले उत्पादन भण्डारणको उचित व्यवस्थापन हुने बताउँदै किसानका केही समस्या टरेर जाने विश्वास व्यक्त गर्नु भयो । आगामी मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरि कार्य अघि बढाएको निर्माण सेवाका प्रतिनिधि दिलिप चन्दले बताउनु भयो । निर्माण कार्य समयमै सक्ने गरी हामीले कार्य अघि बढाएका छौं तोकेको नियममा रहि समयमै निर्माण कार्य सक्ने जनाउनु भयो । बेलडाँडीमा चिस्यान केन्द्र बन्ने भएपछि स्थानीय कृषक हर्षित भएका छन् ।