कञ्चनपुर – कञ्चनपुरमा तिन दिने व्यवसायिक कुखुरा पालन तालिम सम्पन्न भएको छ । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय सुडाले आयोजना गरेको उक्त तालिम मङ्गलबार एक कार्यक्रमका बिच समापन गरिएको हो।
तालिममा कुखुरा पालनको अवधि, कुखुरापालन सम्बन्धी विभिन्न विषयवस्तुहरू जस्तै खोर व्यवस्थापन, दाना व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, जैविक सुरक्षा लगायत बजारीकरण सम्बन्धी विषयमा प्रशिक्षण दिइएको स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि. इलाका कार्यालय धनगढीका प्रबन्धक उमेश कुमार भण्डारीले जानकारी दिएका छन्। कुखुराको उचित व्यवस्थापन गर्न नसक्दा नोक्सानी बेहोर्नु परेको गुनासो आईरहेका बेला प्रदान गरिएको तालिमले किसानलाई ठुलो लाभ मिल्ने उनको भनाई छ ।
कुखुरापालक किसानहरू लाभान्वित हुने गरी आयोजित तालिमले व्यवसायिक प्रगति गर्न सघाउने तालिममा सहभागी भागरथी पन्तले बताइन्। कुखुरा पालन व्यवसायमा आवद्ध किसान तथा व्यवसायीहरूलाई उक्त तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ । तालिममा लघुवित्तका ३० जना सदस्यको सहभागिता रहेको थियो । तालिममा सहभागी समपूर्णलाई सहभागिताको प्रमाण पत्र समेत प्रदान गरिएको छ।