कञ्चनपुर – भारतबाट व्यवसायिक समान तस्करी नेपालमा हुनु समान्य र नियमित भएपनि कृषिजन्य बस्तु (गहुँ) समेत तस्करी भइरहेको छ । कञ्चनपुरको दक्षिणी नाका भारतबाट अहिले गहुँ तस्करी भइरहेको छ । बेलौरी, बेलडाँडीका विभिन्न खुला नाकाबाट गहुँ तस्करी भइरहेको हो । गहुँको सिजन भएकाले तस्कर समुहले भारतमा उत्पादन भएको गहुँ नेपालमा भित्र्याइरहेका छन् । तस्कर समुहले तस्करीको शैली फेरेर कृषिजन्य बस्तु (गहुँ) तस्करी गरिरहेका छन् ।
सशस्त्र प्रहरीले जेठ पहिलो साता ३ सय ६१ बोरा गहुँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले भारतबाट अवैध रुपमा नेपाल भित्रिरहेको ठुलो परिमाणको गहुँ बरामद गरेको बताए । उनका अनुसार गहुँ सहित एक सय जोर स्कुले ड्रेसका जुत्ता, ६४ जोर कन्भर्स जुत्ता, १४ जोर फेसज जुत्ता, १० जोर स्लिप जुत्ता, ८ जोर चप्पल सहित झण्डै ७ लाख २८ हजारको अवैध समान बरामद गरेर त्रिनगर भन्सार बुझाएको बताए । गहुँ सहितका तस्करको योजना सशस्त्र प्रहरीले विफल बनाइदिएको छ ।
गत बैशाखमा नेपाल प्रहरीको बेलौरीको पहुँचबाट सयौँ कुण्डल गहुँ बरामद गरेको थियो । तस्कर समुहले ल्याएको अवैध गहुँदेखि व्यवसायिक समान सशस्त्र प्रहरीले बरामद गरेर भन्सार बुझाईदिएपछि तस्कर समुहको रुवाबासी भएको छ । तस्कर समुहले भारतबाट भन्सार बिनै सस्तोमा खरिद गरेर एकातिर अवैध काम अर्कातिर राजस्व छली गरेर छोटो समयमै कमाउने धन्दा सशस्त्र प्रहरीले चकनाचुर बनाइएको छ । सशस्त्र प्रहरीले कञ्चनपुरमा यस अघि तीन महिनाको अवधिमा पनि विभिन्न व्यवसायिक तस्करीको समान बरामद गरेको थियो ।
विगत एक अघियता सशस्त्र प्रहरीको कञ्चनपुरको सीमा क्षेत्रमा दरिलो उपस्थिति छ । सशस्त्र प्रहरी कञ्चनपुर जिल्ला कमान्डर एसपी खगेन्द्र चन्दको मातहतका इन्चार्ज एव सशस्त्र प्रहरी बलका कर्मचारीलाई जहाँ तस्करी त्यही ठाउँको ठाउँ नियन्त्रण गर्न निर्देशन दिएका छन । कुनै बिओपी इन्चार्जदेखि सशस्त्र प्रहरी कर्मचारी तस्करीसँग साँठगाँठ भए कारबाहीको चेतावनी दिएका छन् । स्थानीयले तस्करी गरेर राज्यलाई राजस्व छली गर्नु भन्दा स्वाभिमानका साथ भन्सार राजस्व काटेर व्यवसाय गर्न अनुरोध गरेका छन् ।