धर्मानन्द भट्ट/कञ्चनपुर : हामी सैद्धान्तिक रुपमा आदर्शीकरण तर व्यवहारिक रुपमा भ्रष्टीकरणको मार्गमा अगाडि बढिरहेका छौँ। नेतृत्व अझै पनि राणाकालीन चेतनाभन्दा अगाडि बढ्न सकेको छैन। यस्तो चेतना बोकेर हामीले युरोप अमेरिकाको सपना देख्दै छौ। मुर्खता बाहेक केही होइन। हामी केवल सपना देखिरहेका छौ। आजसम्मका सरकारी कार्यालय सीतल निवासदेखि बालुवाटारसम्म मन्त्रालय विभाग जति सबै राणाकालीन छन्। त्यहाँ जागीरे भएकाहरूले कयौं शीतल निवासदेखी बालुवाटार बनाइसके।
राजा हटाएर राजा भएकाहरूका कुरा गरि साध्य छैन। पुर्व निस्कासित राजादेखी तत्पश्चात स्थापित राजाहरूका जीवनशैली हेर्दा लोभलाग्दो देखिन्छ तर नागरिक जीवन झन कष्टकर बन्दै गइरहेको छ। यिनीहरूले संविधान दुई बर्षमा बनाउने भने १० वर्ष लगाए भत्ता खाइरहे। बल्ल १० वर्ष पछि केही मान्छेले बसेर चियागफ गरेजस्तो संविधान ल्याए जुन विदाविद नै छ। कानुन बनाउने भन्ने थियो ऐनहरू नै बनेका छैनन्। चेतना संरचना सबै पुरानो बोकेर नया नेपाल बनाउन हिडेकाहरू आफू बन्ने मै सिमित छन्। यो गणतन्त्र र संघीयता भन्ने चिज विदेशीहरू पोस्नको लागि बनाइएको रहेछ भन्ने आशंका गर्ने पर्याप्त ठाउँ छन्।
आजसम्मका राज्यको सेवा सुविधा लिएका मान्छेहरूको जीवन विगत वर्तमान र भविष्यसमेत लाई अध्ययन गर्दा सर्वसाधारण जनतामा घृणा पैदा भएको छ। उनीहरूका आसेपासे बाहेक कोहि सन्तुष्ट देखिदैन। राज्य उदासीन छ।राज्य सञ्चालन गरिरहेका मान्छेहरू घर परिवार आफन्त सञ्चालनमै व्यस्त मस्त देखिन्छन्। आज पनि केही दास मनोवृत्तिका मान्छेहरू नै शासक बनायौ। उनीहरूले दिने शिक्षा आज पनि अनुभव संघर्षमा आधारित छ। ती संघर्ष र अनुभव केवल आफू बन्नका लागि गरिएका कथा बाहेक केही छैनन्।
अब यो दर्शनले चल्दैन। यिनीहरूले दर्शनको विद्रुपीकरण गरे। उत्पादन समाप्त गरे। श्रमप्रतिको निष्ठा समाप्त गरे। केवल भ्रष्ट दलाल उत्पादन गरे। यस्ता बहुलठ्ठिहरूको हातमा देश पुग्यो। पढेलेखेकाहरू आफ्नो निजी जीवनमा केन्द्रित भए। अराजक फटाहा सबै राज्यको नियामक एकाइहरूमा छन्। यो अवस्थाले देशको मुहार बद्लिदैन। शासकहरू सरकारी ढुकुटी दुरुपयोग गर्नमा मात्रै केन्द्रित देखिन्छन्।
राज्य शासकहरू बाहेक कोहि प्रती उत्तरदायी छैन। राजनीतिमा संगै योगदान गरेका कयौ मध्ये १० प्रतिशत राज्यको सेवा सुबिधामा ब्रम्हलुट मच्चाइ रहेका छन्। जनप्रतिनिधिको नाममा आफू अनुकुल शासन चलाइरहेका छन्। राज्यको वैध सेवा सुविधाभन्दा अवैध बढी प्रयोग गरिरहेका छन्। सामान्य जागिरले समेत घर व्यवहार धान्न मुस्किल देखेर कयौ कर्मचारी समेत विदेशीरहेका छन्।
नीतिगत रुपमा सरकार आफै उभिन सक्ने अवस्थामा छैन।
जीवनभर राज्यको लागि काम गरेकाहरू लाई घर फर्किदा कुनै सेवा सुविध छैन तर पुर्वका नाममा अरबौ बजेट वैध छ। नेताहरूले भाषण गर्दा राष्ट्रियता कमजोर भयो भन्न पनि छोड्दैनन त्यस्ता काम गर्न पनि छोड्दैनन। देश खोक्रो हुँदै गइरहेको छ। दक्ष जनशक्ति बौद्धिक जनशक्ति पलायन हुँदै छ। युवा सबै बाहिर गइरहेको देखिन्छ। देशमा आश्रीत जनशक्ति मात्रै रहेको छ।
उत्पदनशील जनशक्ति खाडी देखि युरोप सजाउन गएको छ। महङ्गी बढ्दै छ। सरकारको बैध सेवा सुविधा भन्दा अबैध सेवा सुबिधा खानेहरू धेरै छ।शासकहरू भ्रष्टाचारमा लिप्त छन्। नेपालको कर्मचारी तन्त्र र राजनीति तन्त्र अत्यन्त भ्रष्टीकरणको बाटोमा छ। हरेक सचेत नागरिकले पैरवी गर्नु जरुरी छ। खबरदारी गर्नु जरुरी छ। आफ्नो अधिकारको लागि आफै लड्न सकिएन भने अस्तित्व समाप्त हुन सक्छ। सरकारप्रति कुनै आशा नराख्ने आफै निर्माण र उत्पादनको यात्रामा जोडिने खालको विकास गर्नु आवस्यक छ।