गणेश एसके/कञ्चनपुर : नेपालको संविधान २०७२ को कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन् । मंगलबार जिल्लाको भीमदत्त नगरपालिका हलमा संविधानको पूर्व सन्ध्यामा संविधानका ८ वर्ष अवसर र चुनौती शीर्षकमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले नागरिकको हक र अधिकारको प्रत्याभूति गराउन र कानुनी राज्यको स्थापना गर्न संविधानको कार्यान्यवन अनिवार्य रहेको बताएका हुन ।
सुदुरपश्चिम विश्वविद्यालय कानुन संकाय , जिल्ला समन्वय समिति कञ्चनपुर, नेपाल कानुन व्यवसयी परिषद् सुदुरपश्चिम शाखा , उच्च अदालत बार एसोसिएसन मेहेन्द्रनगर इजलास , बार एसोसिएसन जिल्ला समिति कञ्चनपुर , भीमदत्त नगरपालिका, एमनेस्टी इन्टरनेसनल लगायत संस्थाहरुको संयुक्त आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा सरोकारवाला निकाय र सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्यनरत विद्यार्थीसंग प्रस्नोत्तर कार्यक्रम रहेको थियो ।
कार्यक्रममा सहभागीलाई नेपाल कानुन व्यवसायी परिषद् सुदुरपश्चिम शाखाका पार्षद तथा वरिष्ठ अधिवक्ता प्रकाश पाण्डेले स्वागत मन्तव्य राखेका थिए । २०७२ सालमा बनेको नेपालको संविधानको मुख्य विशेषता र कार्यान्वयनमा देखिएका चुनौतीको विषयमा सुदुरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक सुदर्शन कुंवरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उप प्राध्यापक कुंवरले प्रस्तुत गरेको कार्यपत्रमा संविधानले अबलम्बन गरेको प्रावधानको चर्चा गरिएको थियो भने संविधान लागू नहुनका कारण समेत समावेश थिए । वर्तमान परिवेशमा प्रचलनमा रहेको संविधानको राम्रा र नराम्रा पक्षको विषयमा थुप्रै विद्यार्थीहरुले जिज्ञासा सहितका प्रश्न राखेका थिए ।

अन्तरक्रियामा अतिथिका रूपमा सहभागी कञ्चनपुर जिल्ला प्रशासन कार्यालय प्रमुख गोपाल प्रसाद अधिकारीले विगतको संविधान भन्दा अहिलेको संविधानले जनताको हक अधिकार समेटेको तर जनस्तरबाट कानुनको पालना भन्दा त्यसको उलंघनका क्रियाकलाप बढी हुँदै आएको बताए । संविधानले व्यवस्था गरेको समावेशिता र समानुपातिकताको मुद्दालाई राज्यले सही ढंगले बढाउनुपर्ने र त्यसको गुणस्तरीयतामा ध्यान दिनुपर्ने कुरामा जोड दिए । जनताको तहबाट पनि संविधानले प्रदत्त गरेका अधिकार र कृतव्यको सही पालन गरी संविधानको पालनामा सबैले जिम्मेवार हुनुपर्ने अधिकारीले भने ।

त्यस्तै कार्यक्रममा वक्ताका रुपमा सहभागी कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले अदालतले आफ्नो मनोमानी ढंगले काम नगरेको प्रष्टाए । न्यायाधीश पाण्डेले सम्बोधनका क्रममा अदालतहरुले संविधान र कानूनले अंगित गरेको फ्रेममा नै काम गरेको बताए र संविधानवादका मूल्य मान्यतालाई आत्मसात गर्दै अगाडि बढे संविधानको मर्म सही साबित हुने उनको भनाई थियो । यस्तै अर्का वक्ता वरिष्ठ अधिवक्ता तथा उपसभामुख भोजराज जोशीले संविधान प्रति सबैले सकारात्मक धारणा बनाउन आग्रह गरे । उनले संविधान निर्माण गर्न विगतमा थुप्रै राजनीतिक दल र विभिन्न निकायले संगठित भएर संघर्ष गरेको कुरा पनि स्मरण गरे । जोशीले भने ,“ संविधानको रक्षा ,पालन र लागू गर्न सबैको दायित्व रहेको र संविधान रहे मात्रै राष्ट्रको राष्ट्रियता , सार्वभौमसत्ता र स्वाभिमान जोगिन्छ ।”
अन्तरक्रियामा सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अथिति उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अर्जुन प्रसाद कोइरालाले अहिलेको संविधानमा उल्लेख्य रुपमा राम्रा पक्षहरू समेटिएको तर संविधानको कार्यान्वयनको पाटो भने कमजोर रहेको जिकिर गरे । जनताको जनविश्वासलाई कम हुने किसिमको कार्य न्यायालयबाट नभएको उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चनपुर जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहोराले एकथरी जमातले संविधान नै सबै कुराको बाधक या समस्याको जड हो भन्ने किसिमका गतिविधि गरिरहेको छन् त्यस्ता क्रियाकलाप संविधान विरोधी कार्य रहेको बताएका छन । समाजमा धेरै व्यक्तिले अधिकारीको सही सदुपयोग नगरी त्यसको दुरुपयोग गर्दा संविधानको कार्यान्वयनमा चुनौती खडा भएको बोहोराले भने । बोहोराले भने ,“संविधानको मूल एजेण्डा र मान्यतालाई स्थापित गरी आम नागरिकलाई कानुनको शासन अनुभूति गराउन सरोकारवाला निकायले विश्वास दिलाउन पर्छ ।”संविधानका विभिन्न व्यवस्थाकै कारण समाज सकारात्मक तरिकाले अग्रगामी परिवर्तनको बाटोमा अगाडि भएको उनको निष्कर्ष छ । कार्यक्रमको अन्त्यमा उच्च अदालत बार एसोसिएसन महेन्द्रनगर इजलासका अध्यक्ष यज्ञराज जोशीले धन्यवाद मन्तव्य सहितको संविधानको कार्यान्वयनमा जोड दिएका थिए ।
सुदुरपश्चिम विश्वविद्यालय कानुन संकायका डिन कर्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डे, उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश द्वय कृष्णलाल भट्टराई, अर्जुन प्रसाद कोइराला, भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी, जिल्ला समन्वय समिति कञ्चनपुर प्रमुख दुर्गादत्त बोहोरा , कञ्चनपुरका प्रजिअ गोपाल अधिकारी, उच्च सरकारी वकील कार्यालयका निमित्त सह न्यायाधिवक्ता प्रकाश भण्डारी, बार एसोसिएसनका पदाधिकारी , कानुन व्यवसायी लगायत कानुन अध्यनरत विद्यार्थी सहभागी थिए ।
