कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिकाबाट पहिलो पाईलट कोर्ष गर्ने एक पाईलटलाई सम्मान गरिएको छ । बेलडाँडी गाँउपालिकाबाटै पहिलो पाईलट कोर्ष गर्ने सागर विष्टलाई सम्मान गरिएको हो ।
बेलडाँडी गाँउपालिका १ कञ्चनपुरका स्थानीय विष्टले हालै अमेरिकाको बेईमेन एडिएसनबाट पाईलट कोर्ष पुरा गरेर घर फर्किएका थिए । गृहनगर पुगेका विष्ट सहित उनको घर परिवारलाई गाँउपालिकाले सम्मान गरेको छ ।
पाईलट विष्टलाई प्रमाण पत्र र उनका घर परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले सागर विष्टको पढाईको सम्मानका साथै उक्त अध्ययनमा घर परिवारले गरेको भूमिकामा उच्च रहेको भन्दै प्रेरणाका लागि सम्मान गरिएको बताए । ‘बेलडाँडीले सागर विष्ट जस्तो छोरा जन्माउनु हामी सबैले गर्व गर्ने ठाँउ छ, ‘उनले भने, ‘सागरको उज्ज्वल भविष्य कामना गर्छु ।’ पाईलट सागर विष्टले नर्सरीदेखि कक्षा २ सम्म बेलडाँडीकै जनज्योतीमा अध्ययन गरेका थिए ।
कक्षा ३ देखि १० सम्म प्रभात विद्या निकेतेन बसन्तपुर र आईएस्सी महेन्द्रनगरको मर्निङ्ग ग्लोरीबाट अध्ययन गरेर १९ बर्षकै पाईलट कोर्ष पुरा गरेका थिए । संयोग पनि ३० भदौँ ०६१ मा जन्मिएका पाईलट विष्टलाई बेलडाँडी गाँउपालिकाले पनि ३० भदौँ ०८०मा जन्मेकै मितिमा सम्मान गरेको छ ।
पाईलट विष्टका बाबु महेश बिष्टले छोराको सपना पूरा गर्न आफु र परिवारले आर्थिक व्यवस्थापन गरेर को बताए । ‘छोराका सानैदेखिको चाहना पाईलट बन्ने थियो, ‘उनले भने, ‘अहिले कोर्ष सकेर घर आएपछि घरपरिवारमा खुसीयाली छाएको छ ।’ पाईलट कोर्ष सकेर घर आएका सागर विष्टले समेत आफ्नो सफलतामा घर परिवार, शिक्षक गुरुदेखि समाजको भूमिका रहेको भन्दै धन्यवाद प्रकट गरेका छन ।
पाईलट कोर्ष गर्नेमा गाँउमै पहिलो बनेका पाईलट विष्टलाई पालिका सरकार सहित आफन्त साथिभाईले बधाई दिईरहेका छन ।