सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पञ्चाङ्गमा नववर्षको व्यवस्था र लोक परम्परा

जगदीश ओझा, कञ्चनपुर – समय निरन्तर चलिरहने प्रक्रिया हो। स्थान, समय,परिवेश ,व्यवस्था, सहजता तथा अवस्था अनुसार यसलाई मापन/ गणना गरिन्छ र व्यबहारमा प्रयोग गरिन्छ। समय गणनाको मानव जीवनसंग घनिष्टतम सम्बन्ध कायम भयेको हुन्छ । मानब व्यवहारका धर्म संस्कृति, सामाजिक, धार्मिक एवम् अन्य दैनिक जीवनका थुप्रै काम क्रियाकलापहरू पात्रो / पञ्चाङ्ग या क्यालेण्डरसंग जोडिएका हुन्छन्।तसर्थ पञ्चाङ्ग दैनिकचर्याको timetable भन्दा फरक नपर्ला। धर्म- संस्कृति तथा समुदाय अनुरूप समय व्यवस्था फरक हुन्छन्। अक्षांश देशान्तरको आधारमा ठाउँ अनुसार सूर्योदय, लग्नोदय तथा पञ्चाङ्गका समयमान फरक फरक हुन्छन। वैश्विकरण ( globalization)अन्धानुकरणले वैज्ञानिकता हुँदा हुदै पनि कैयौ पक्षहरू छाडदै गयेको हाम्रो समाज उताकै ठिक हो भन्ने भ्रममा पर्दै गयेको छ। हाम्रा अग्रजहरूका गहन खोजबाट सम्पादित ज्ञान विज्ञानमा युरोप अमेरिकाका अध्येताहरू चासो बढाउदै गरेको बेला हामी कुन दिशामा जादै छौ ? प्रश्न उठ्छ । जस्तो क्यालेण्डर ग्रिगोरियन मतको समय गणना विधि र मूलतः क्रिश्चियन धर्मको मत अनुप्राणित हुन्छ ।

हिन्दु वैदिक परम्परा र ज्योतिषी विज्ञानको पञ्चाङ्गलाई ग्रिगोरियन क्यालेण्डर सापेक्ष तुलना गर्न सकिदैन। पञ्चाङ्गको अर्थ क्यालेण्डर हुन सक्दैन। हजारौ बर्षदेखि विद्वानहरूको सोधखोज र उच्चतम खगोलिय अध्ययनको परिणाम हो पञ्चाङ्ग। यसका बिसद् पक्ष र उपयोग क्षेत्र छन । गणितिय र वैदिक विज्ञानको परिगणनाबाट पञ्चाङ्ग निस्पत्ति हुन्छ। प्रमाणित बिभिन्न ज्योतिषिय सिद्धान्तबाट निष्पन्न ५ वटा अङ्ग ( तिथि वार नक्षत्र, योग र करण)को व्यवस्थित स्वरूप नै पञ्चाङ्ग हो ।देश या स्थान भेद अनुसार पञ्चाङ्ग व्यवस्था कायम हुन्छ।
हाम्रो परम्परा र ज्ञानको परख नगरेरै हामी सास्कृतिक उपनिवेश र दासता उन्मुख भै रहेछौ । यहाको ज्ञान विज्ञान र पहिचानमाथि नै संकटको अवस्थाबाट अघि बढन खोजिरहेछौ कि ?
हाम्रो पुर्विय मान्यतामा तमाम बिकल्प र बाटाहरू छन । देशकाल परिस्थिति अनुसार फरक फरक गणितीय पञ्चाङ्ग गणनाका विधि( calculation method) छन तापनि सबै विधिको सारभूत स्वरूप उस्तै हुन्छ । वर्ष ,मास ,सम्वतसर, तिथि, नक्षत्र, करण, वार, बेला, मुहुर्त, योग, तिथि मिति, निर्णय र निर्धारण, वैकल्पिक व्यवस्था तथा समस्या समाधान सम्वन्धित व्यापक पक्ष पञ्चाङ्गको सेरोफेरोमा आवद्ध हुन्छन ।
ज्योतिषीय गणित, शास्त्रीय मत तथा लोक परम्परा नै निणर्यका मूल आधार हुन्छन।” यद्यपि सिद्धम् लोकविरूद्धम् —-” भने अनुसार लोक सापेक्षतालाई महत्वपूर्ण स्थान दिएको पाइन्छ। सास्कृतिक बिभिन्नतामा लोकमत कै आधारमा नववर्ष फरक फरक तिथिमितिमा मनाउने परम्परा रहने भये पनि वैदिक आर्य समाजमा ज्योतिषीय कालक्रमको गणना अनुसार सौरमान अनुसार विषुवत संङ्क्रान्तिबाट नव सम्वतसर सुरू हुन्छ भने चान्द्रमान अनुसार सम्वतसरी औंसीमा एक बर्ष सकिएर अर्को वर्ष आउँछ ।त्यस्तै नक्षत्रमास, सावन मास लगायतको पनि व्यवस्था छ। बिक्रम सम्वत २०८० शाके सम्वत १९४५ नर्मदा नदीको उत्तर भागमा प्रभवादि ” पिङ्गल “नामक सम्वत रहेको छ ।

यस वर्ष ग्रहहरूको राजा बुध ग्रह र मन्त्री पद शुक्र ग्रहको जिम्मामा परेको छ। हाम्रो ज्योतिषीय गणना अनुसार सृष्टि देखि १,९५,५८,८५,१२४ बर्ष बिति सकेका छन । संयोजित बर्ष परम्परामा सम्वतसर बदलिएको दिन चैत्र शुक्ल १ पर्ने बार स्वामी राजा तथा मेष सङ्क्रान्ति अर्थात बैसाख १ का बार स्वामी मन्त्री रहन्छन्। यिनकै सम्बन्धका आधारमा बर्षफल हुने तथा बिषुवत् सङ्क्रान्तिका दिन र तुला सङ्क्रान्तिका दिनमा चन्द्रमाको अवस्थितिका आधारमा ब्यक्तिगत पैठ-अपैठ(जुर-अजुर) हेर्ने गरिन्छ ।
सम्वतसर बदलिएको दिनमा वर्षफल सुन्ने सुनाउने परम्परा रहि आएको पाइन्छ भने । नयाँ वर्षको सुरूमा के गर्ने भन्ने सम्बन्धमा शास्त्रीय मत यस्तो रहेको छ : —-

World Link Ads
Mahakali Polytechnic

” प्राप्ते नूतनवत्सरे प्रतिगृहम्कुर्यात ध्वजारोपणम् ।
स्नानं मंगलमाचरेद् द्विजवरैः सार्द्ध सुपुजोत्सवम् ।
देवानां गुरूयोषितां च विभवालंकार वस्त्रादिभिः ।
सम्पुज्यो गणकःफलंच्श्रृणुयात्तस्माच्च लाभप्रदम् ।। “

Dirghayu Ads

नयाँ वर्ष प्राप्त भये पछि गृहशुद्धि गरेर ध्वजा रोपण गर्ने, स्नान गर्ने, मंगलाचरण गर्ने, उत्तम द्विजद्वारा पुजा उत्सव गर्ने, देव तथा गुरूपूजन पुर्वक गणकद्वारा पञ्चाङ्ग फल सुन्नु लाभप्रद हुन्छ ।
विभिन्न समुदायमा नवसम्वत्सर आउनै लाग्दा जनमानसमा एक किसिमले खुसी पनि छाउछ ।स्थानिय प्रचलनहरू अनुसार नौलो वर्ष उत्कृष्ट उत्सवका रूपमा मनाइन्छ ।अझै पनि सुदूरपश्चिमको पहाडी क्षेत्रमा देउव्यानीको रातो माटो प्रसादका रूपमा टाढा टाढासमेत लैजान्थे। कमेरो र मटिखण्णको रातो माटोले घर पोतेर सिगारिन्थे।
#प्राकृतिक रूपमा पनि वसन्त ऋृतुको मध्यकालिन छटा अनि खेतबारीमा गहुँ पाक्ने र धानको बिउको सोधखोज गर्नु पर्ने बेला । केटाकेटीहरू ग्वाला हुदै भ्वाँमा मतर्कने र कोयली अनि काफलपाकोसंगै रमाउने बेला । सम्वतसरी औंसीमा सम्वत सकिने अनि चैत्र शुक्ल प्रतिपदा ” वत्सरारम्भ ” र बिषुवत संक्रान्ति-बिस्पतिलाई नयाँ वर्षको उल्लासमय रूपमा मनाउने लौकिक र शास्त्रीय परम्परा रहेका छन।

केही दिनको अन्तरालमा पर्ने चान्द्रमान अनुसारको नयाँ वर्ष सम्वतसर पहिवो दिन र सौरमान अनुसारको बैसाख सङ्क्रान्ति उत्तिकै मूल्यका साथ आत्मसात् गरिएको छ । ज्योतिषिय परम्परा, चैते नवरात्रीको पुण्य दिनहरूमा देवस्थलहरू संगै घरघरमा “ देउज्वार्ने “ चैते नवरात्रीको सात्विक अवसरका रूपमा मनाउने प्रचलन छ ।

Sana Kishan

अग्रजहरूको सम्वतसरी नजिकिदै गर्दा अतास हुन्थ्यो “ पतडा “ बनाउन। सोध्न आउनेहरु उतिकै, बिस्पति अगावै सम्वतसर के आयो ? फल के छ ? राजामन्त्री को ग्रह हुन?बिस्पति पैठ अपैठ के छ ? सयानाहरूको चासो हुने गर्दथ्यो।ज्योतिषीहरूले पञ्चाङ्ग बनाएर बाडने तथा सम्वतसर फल सुनाउने कुरा बिलुप्त प्रायः भै सकेको छ।

चैत सिद्धिनै लाग्दा सम्म दिदीबैनी भेटाउलो लगेर भेटिसक्ने हतारो हुन्यो। गाउँमा हुडकोको कर्णप्रिय धुनसंगै “ रितु बसन्त, कोरे मैना जेठो होलो, को रे देवाजेठा हुन्ना ?—रितुरानो वसन्त -गायनसंगै सादेउवाला गोरीधनाको करूण बियोगान्त चैतलोले आँखा रसाउन पुग्थे ।

नयाँ लुगा लाउने कुरा र “ बिस्पतिका दिन कि खन्या हो ला गेदाउ ? “ भन्ने प्रश्नले केटाकेटीको खुसीको सीमा रहदैनथ्यो। परिवारमा बालवालिकाको पनि रोजाइ खोजिनु महत्वपूर्ण कुरा हो ।

देउताको भाग (न्वाकी) छुट्याइसके पछि नौनाज चाख्ने उत्कण्ठा सबैमा हुन्थ्यो । कुमास र उमा चाख्दाको स्वादै अर्को हुन्थ्यो।

बिस्पतिका दिनको झट्ट उठेर “फूल चढ्यो बिष बग्यो “भन्दै नुहाउने होडको मजा अर्कै हुन्थ्यो। चुल्देल गरि ढोकामा फूल राख्दै ढोगेर नयाँ बर्षको स्वागत गरिन्यो। “दशुबिसु“ अपुच्छो दिन हुने भयेकाले नौलो काम र संस्कार गर्न कसैलाई हिच्किचाहट हुदैनथ्यो ।
समयको फेर हो , उपरोक्त कुरा सम्झनाकै बिषय बन्न गइरहेछन । पातडो हेरेर सोध्ने दिनबार क्यालेण्डरमा झुण्डिएको छ अनि काज मनाउन आरसारको जमाना रहेन ।बाँडीचुँडी काजबार मनाउने बिगतको परम्परालाई छिद्रान्वेषी नजरले हेर्ने अनि बुर्जुवा बनाउँदै बरू मासु र रक्सी नै काफी भयेको छ । सिस्नोको मनोरञ्जन देवर भाउजुको सम्बन्ध अनि सिस्नोको टक्सिक प्रभावबाट रोग भाग्ने कुरा को खोजिखबर छैन ।
जान्ने सुन्ने शिक्षित दिक्षित बढदै गयेको बर्तमान ब्राह्मण, कलौत, मान्यजनका आसिका सबै हराउदै गएर happy new year सिकुडिएका छन्
पञ्चाङ्गको अर्थ क्यालेण्डर हुन सक्दैन। हजारौ बर्षदेखि विद्वान्हरूको सोधखोज र उच्चतम खगोलिय अध्ययनको परिणाम हो पञ्चाङ्ग यसका बिसद पक्ष र उपयोग क्षेत्र छ ।गणितिय र वैदिक विज्ञानको परिगणनाबाट पञ्चाङ्ग निस्पत्ति हुन्छ। प्रमाणित बिभिन्न ज्योतिषिय सिद्धान्तबाट निष्पन्न ५वटा अङ्ग पञ्चाङ्ग हो ।आधुनिक विज्ञानले समेत यसका मान्यताहरू खण्डन गर्न सकेको छैन।हाम्रो परम्परा र ज्ञानको परख नगरेरै हामी सास्कृतिक उपनिवेश र दासता उन्मुख भै रहेछौ । यहाको ज्ञान विज्ञान र पहिचानमाथि नै संकटको अवस्थाबाट अघि बढन खोजिरहेछौ कि ?

 

जगदीश ओझा

महेन्द्रनगर, कञ्चनपुर

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.