सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिसो समयमा बालबालिकामा रुघाखोकीको राम्रो उपचार नभए निमोनिया हुन सक्छ

30
Sana Kishan

काठमाडौं ।  चिसो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । चिसो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई रुघाखोकी, झाडापखाला, निमोनियाजस्ता समस्या देखिने गर्छ ।

अभिभावकले ख्याल नगर्दा वा गलत उपचार गर्दा बालबालिकाको स्वास्थ्यमा जटिलता देखिने र कतिपयलाई आईसीयूमै राख्नुपर्ने अवस्था आएको वरिष्ठ बाल रोग विशेषज्ञ प्रा.डा.गणेश राई बताउँछन् ।

 

Arus

आफूकहाँ आउने बिरामीमध्ये दुई तिहाइ भन्दा बढी रुघाखोकीजन्य समस्या लिएर आएको उनको भनाइ छ । चिसो मौसममा बालबालिकामा देखिने स्वास्थ्य समस्या र त्यसबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे डा. राईसँग अनलाइनखबरका पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश ः

चिसो मौसममा बालबालिकामा कस्तो समस्या देखिन्छ ?

 

श्वासप्रश्वासजन्य र विन्टर झाडापखाला बढी देखिन्छ । विन्टर झाडापखालामा बान्ता पखाला हुन्छ । रुघाखोकी लागेमा ४–५ दिनमा ठीक हुन्छ, दुई–तीन दिन ज्वरो आउन सक्छ । तर, रुघाखोकीको भने राम्रो उपचार नभए निमोनियासमेत हुन सक्छ ।

बालबालिकालाई सास फेर्न गाह्रो हुने, लामो–लामो सास फेर्ने समस्या देखिए निमोनियाको शंका गर्नुपर्छ । दमको समस्या देखिए छाती घ्यारघ्यार हुन्छ । समयमै उपचार नपाए जटिलता बढेर आईसीयूमै भर्ना गर्नुपर्ने हुन सक्छ ।

भनेपछि चिसो मौसम बालबालिकाका लागि जोखिमपूर्ण हुन्छ ?

बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । चिसो समयमा न्यानोका लागि धेरै जना एउटै कोठामा बस्ने प्रचलन छ । यस्तो बेला श्वासप्रश्वासको माध्यमबाट बालबालिकामा रुघाखोकी सर्ने सम्भावना हुन्छ ।

रुघाखोकी पनि गर्मी मौसममा भन्दा जाडोमा बढी लाग्छ । रुघाखोकीको समयमै सही उपचार नभए निमोनिया हुने र दुई वर्षभन्दा कम उमेरका बालबालिकामा दम (ब्रोन्काइटिस) को लक्षण देखिन सक्छ । जसले गर्दा छातीमा दाग बस्ने समस्या हुन्छ र कहिलेकाहीँ मुटुमा पनि समस्या देखिन्छ ।

जाडोमा देखिने अर्को समस्या रोटा भाइरसको पनि हो । खासगरी नवजात शिशु वा कम उमेरका बालबच्चालाई यसले सताउँछ । रोटा भाइरसको संक्रमणले बालबालिकालाई लगातार वान्ता गराउँछ, पखाला पनि लाग्छ ।

यस्तो अवस्था ४८ घण्टासम्म रहन सक्छ । यो संक्रमण यसकारण घातक हुन्छ कि, यसले कडा किसिमको जल वियोजन गराउन सक्छ । जलवियोजनकै कारण बच्चाको मृत्यु पनि हुन सक्छ ।

पछिल्ला वर्षहरुमा चिसो मौसममा अस्पताल आउने बालबालिकाको संख्या कम थियो, यो वर्ष किन बढेको होला ?

कोरोना महामारीका कारण धेरै बालबालिका विद्यालय गएनन्, घरमै आइसोलेट भएर बसे, त्यसकारण बजारमा बनेका खानेकुराहरु खाएनन् । घरमै रहँदा श्वास प्रश्वासजन्य रोग कम स¥यो ।

त्यसैले निमोनिया, दम, झाडापखाला पनि कम भयो । कोरोना कहर कम भएपछि पुन हामीले सामाजिक कार्य गर्न थाल्यौं । अहिले दैनिक अस्पताल आउने १०० बालबालिकामध्ये ७० जनामा रुघाखोकी र १०–१५ जनामा झाडापखालाको समस्या देखिन्छ ।

 

चिसो मौसममा किन स्वास्थ्य समस्या देखिन्छ ?

चिसोले शरीरको सुरक्षा प्रणाली कमजोर पार्छ । पानी नपरेकाले वातावरण एकदमै सुख्खा छ । जसले गर्दा लामो समयसम्म किटाणुहरु बढी समय सक्रिय रहन्छ । चिसोमा सरसफाइमा कमी हुने भएकाले पनि रुघाखोकीजन्य समस्या बढी देखिन्छ ।

 

स–सना बालबालिकालाई दम हुँदैन भन्ने मानसिकता छ नि ?

ठूलो मानिसमा जस्तै बच्चामा पनि दमको समस्या देखिन्छ । यद्यपि बालबालिकालाई दमको समस्या कमै हुन्थ्यो । तर, हिजोआज वायु प्रदुषणको मात्रा बढेको छ । खानेकुराहरु प्राकृतिक छैनन् । त्यसैले नेपालमा बाल दमले भयावह रूप लिइरहेको छ ।

नेपालमा बच्चाको श्वास–प्रश्वास प्रणालीमा समस्या देखिएमा निमोनिया नै भयो भन्ने प्रचलन छ, तर होइन । बच्चामा देखिएको श्वास–प्रश्वास समस्या दम पनि हुन सक्छ । निमोनिया र दम फरक कुरा हुन् ।

निमोनिया हुँदा ज्वरो बढी हुन्छ । तर, दममा ज्वरो नआउने वा कम आउने हुन्छ । दम हुँदा घ्यारघ्यार बढी हुन्छ । विभिन्न क्लिनिक र औषधि पसलले निमोनिया र दम भएका बालबालिकालाई एकै किसिमको औषधि दिएको देखिन्छ ।

निमोनिया, ब्रोन्काइटिस (दम), रुघाखोकीको बेग्ला–बेग्लै किसिमको उपचार पद्धति छ । दमको समस्या इनहेलरको सहायताले उपचार गर्न सकिन्छ । यसले बालबालिकाई साइड इफेक्ट पनि कम गर्छ ।

धेरैजसो बाल दम उमेर बढ्दै जाँदा आफैं कम हुँदै जान्छ । बच्चामा लागेको दम युवा अवस्थासम्म कम भइसकेको हुन्छ भने केहीमा बाँकी हुन्छ ।

 

Karnali Traders

कस्ता बालबालिका बढी जोखिममा हुन्छन् ?

कुपोषण भएका बालबालिका बढी जोखिममा हुन्छन् । मुटु रोग लागेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा पनि यस्तो रोगको जोखिम हुन्छ । समय नपुगी जन्मिएका वा तौल कम भएका बालबालिकामा निमोनिया र श्वासप्रश्वासजन्य रोग बढी देखिन्छ । सबैभन्दा बढी ५ बर्षभन्दा मुनिका बालबालिकालाई झाडापखला र श्वासप्रश्वासमा समस्या देखिन्छ ।

एक बर्षमुनिका बालबालिकालाई श्वासप्रश्वासजन्य र झाडापखालाका समस्या भएमा जटिलता बढेर मृत्यु हुने सम्भावना पनि हुन्छ । अभिभावकले सानो बेलामा निमोनिया भएकाले ठूलो हुँदा पनि छाती घ्यारघ्यार हुन्छ भन्नुहुन्छ, वास्तवमा यो गलत बुझाइ हो ।

एउटै मान्छेलाई बारम्बार निमोनिया हुँदैन । पटक–पटक निमोनिया भइरहेको अवस्था छ भने त्यो बालबालिकालाई अन्य कुनै रोग छ वा रोगसँग लड्न सक्ने क्षमता कम छ भनेर बुझ्नपर्छ ।

पटक–पटक बालबालिकालाई रुघाखोकी लाग्ने वा घ्यारघ्यार हुने र निमोनियाका लक्षण देखिन्छ भने त्यो बाल दम हुनसक्छ । समयमा सही उपचार नपाएको अवस्थामा फोक्सो बिग्रेर जान्छ । जसका कारण कडा खालको दम हुने र पढाइलेखाइमा अन्य बालबालिका भन्दा कमजोर हुने समस्या देखिन्छ ।

रुघाखोकीजन्य समस्यामा कस्ता खालका लक्षण र जटिलता देखिन्छन् ?

निरन्तर खोकी लागिरहन्छ, नाकबाट पातलो पानी बग्छ, ज्वरो मन्द खालको छ भने यस्ता समस्या ७२ देखि ८० घन्टामा आफैं ठीक भएर जान्छ । यसको लागि सिटामोल वा घरेलु उपचारबाटै पनि ठीक हुन्छ ।

खोकी र रुघाको जतिसुकै उपचार गरेपनि ठीक हुन ६–७ दिन लाग्छ । तर, ८० घन्टाभन्दा बढी ज्वरो आएमा, सास छिटो–छिटो फेर्ने, खाना खान नसक्ने, वान्ता हुने, घ्यारघ्यार धेरै गर्ने, कोखा धेरै हान्ने समस्या देखिएमा जटिलता देखियो भनेर बुझ्नुपर्छ ।

त्यसैगरी, कडा किसिमको जलवियोजन हुने, बच्चाको आँखा गाडिने, बच्चा सुस्त हुने, मुर्छा परेर बेहोस हुने समस्या पनि देखिन सक्छ । सामान्यतया बच्चाले २४ घन्टामा पाँच पटक पिसाब फेर्नुपर्ने हुन्छ । पिसाब कम गरेमा पनि केही जटिल समस्या देखिँदै छ भनेर बुझ्नुपर्छ । यस्तो समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

 

बालबालिकामा रुघाखोकी लाग्दा अभिभावकले आफैंले औषधि किनेर खुवाइरहेको पाइन्छ । यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

रुघाखोकी समस्यामा एन्टिबायोटिक औषधि आवश्यक पर्दैन । तर, बालबालिकालाई तीन–चार एन्टिबायोटिक चलाएको पनि देखिएको छ । कफ सिरफ र अन्य एन्टिबायोटिक मिलाएर खुवाउँदा बच्चाको मुटुको चाल बढी हुनजान्छ । जसको असर बढी निन्द्रा लाग्ने, खान नसक्ने र मुटुमा असर गर्दै बच्चाको ज्यान समेत जानसक्छ ।

हामीले एक सय बालबालिका हेर्दा ५० भन्दा बढीलाई विभिन्न एन्टिबायोटिक औषधि खुवाएको पाइन्छ । बालबालिकालाई झाडापखाला हुँदा जीवनजल मात्रै खुवाउनपर्छ । तर, झाडापखाला लाग्दा पनि बिभिन्न एन्टिबायोटिक औषधि चलाएको पाइन्छ ।

अस्पतालसम्म आइपुग्दा बालबालिकालाई रोग होइन, औषधिले असर पुर्याइरहेको छ । फार्मेसीबाट आफुखुशी औषधि किनेर खुवाउँनु बालबालिकाका लागि घातक हुन सक्छ ।

 

रुघाखोकीमा घरेलु उपचार के गर्न सकिन्छ ?

रुघाखोकी लागेको बेला दूधमा थोरै मह राखेर खुवाउनु एकदमै फाइदाजनक मानिन्छ । त्यसैगरी, दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पात, बेसार उमालेर रस बनाएर खुवाउन सकिन्छ । रुघाखोकी लागेको बेला दाल, भात, दूध थोरै–थोरै दिनुपर्छ ।

श्वासप्रश्वासको समस्या भएको बेला मनतातो झोल पदार्थ दिनुपर्छ, जसले खोकी र घाँटीको दुखाइ कम हुन्छ । माछा, मासु र अण्डा पनि खुवाउन सकिन्छ । मनतातो पानीमा भिजाएर फलफूल खुवाउन सकिन्छ । तर, फ्रिजमा राखेको खानेकुरा खुवाउन हुँदैन ।

धेरै अभिभावकले रोग लागेपछि माछा, मासु, अण्डा, दूध दिन बन्द गर्छून् । झोलिलो पदार्थ खुवाउनुपर्छ भनेर दालको रस मात्रै खुवाउँछौं । दालको रसले मात्र शरीरलाई शक्ति पुग्दैन ।

रुघाखोकी लागेको बेला धेरै पौष्टिक आहारको आवश्यकता पर्छ । रोगले सताएको बेला खानेकुरा कम हुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ । रुघाखोकी लागेका बालबालिकालाई न्यानो बनाएर राख्ने, लामो र हावा नछिर्ने कपडा लगाइदिनुपर्छ ।

चिसो मौसममा बालबालिकालाई स्वास्थ्य समस्याबाट जोगाउन अभिभावकलाई के सुझाव दिनुहुन्छ ?

बच्चालाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउँदा धेरै रोग लाग्नबाट जोगाउन सकिन्छ । आमाको दूधमा धेरै रोगसँग लड्न सहयोग गर्ने पौष्टिक तत्व हुन्छन् । ६ महिनापछि विस्तारै अन्य खानेकुरा खुवाउँदै लैजानुपर्छ । साथै बच्चालाई न्यायो बनाएर राख्नुपर्छ । धेरै जना एकै ठाउँमा गुम्सिएर बस्ने, आगो ताप्ने, हिटर बाल्ने गर्नु हुँदैन ।

नेपाल सरकारले १५ महिनासम्मका बालबालिकालाई १३ थरीका खोप उपलब्ध गराएको छ । त्यसमध्येका अधिकांश खोपले निमोनिया, रुघाखोकी कम गर्छन् । झाडापखाला कम गर्नका लागि सरकारले दुई–तीन बर्षदेखि रोटा भाइरसको खोप दिइरहेको छ ।

बालबालिकालाई समयमै खोप लगाएमा धेरै रोगबाट बचाउन सकिन्छ । यदि हुँदा–हुँदै पनि बालबालिकाले पूर्ण खोप पाएका छैनन् । बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाउन छुटेमा ५ बर्षसम्म जुनसुकै बेला लगाउन सकिन्छ ।

 

(onlinekhabar.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.