
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल हुँदा पनि सत्ता गुमाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरू फेरि आउने बताएका छन्।
पूर्व प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तासँगको भेटघाटमा निराश हुने अवस्था नरहेको भन्दै हौसला दिने गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले विचलित हुने कुरा नभएको बताए।

सत्ता गुमाएपछि सभापति देउवाको भनाइ के छ भन्ने प्रश्नमा महतले भने, “सभापतिजीले हामीले गठबन्धन अगाडि बढ्छ भन्ने विश्वास गरेका थियौं। कहिलेकाहीं आकलन गरे जस्तो अगाडि बढ्दैन, यस्तो खाले परिस्थित आयो भन्ने गर्नुभएको छ।”
सभापति देउवाले विचलित नहुन हौसला दिने गरेको महतले बताए। देउवाको भनाइ उद्धृत गर्दै महतले भने, “यसबाट विचलित हुने कुरा छैन। हामी फेरि आउनेछौं (‘वी विल कमब्याक’)। हामी फेरि ‘स्ट्रोङ’ भएर आउनेछौं।”

कहिले ‘कमब्याक’ हो, पाँच वर्षपछि कि पाँच वर्षभित्रै भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता महतले भने, “हेर्दै जानुहोस् न।”
सत्ता गुमाएपछि पहिलो पटक कांग्रेसले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा प्रवक्ता महतले गठबन्धन भत्कनुमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नै दोषी रहेको जिकिर गरे। “गठबन्धन कायम नहुनुमा जसले छोडेर जान्छ, उही जिम्मेवार हुन्छ,” महतले भने, “हामीले गठबन्धनलाई विश्वास गरेका थियौं, विश्वास अनुसार काम भएन।”
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नै सरकारको नेतृत्व नछोडेको उनको भनाइ थियो। कांग्रेस केन्द्रीय कार्यसमितिले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। “केन्द्रीय कार्यसमितिको निर्णय विपरीत प्रचण्डजीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिएको भए पनि आलोचना हुन्थ्यो,” महतले भने, “८९ सीट जितेको कांग्रेस माओवादीको पुच्छर बनेर गयो भन्थे।”
प्रतिनिधि सभामा कांग्रेसका ८९, नेकपा (एमाले)का ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका एक–एक सांसद छन्। त्यस्तै, पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। हिमालखबरबाट सभार
