
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन्।
नारायणी नमुना मावि भरतपुरको हिरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रचण्डले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले बाँकी जीवन विकास र सुशासनका निम्ति समर्पित गर्ने भनेर भनेको छु।’ आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै प्रचण्डले भने,‘यो कार्यकालमा मैले भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु।’

अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार नियन्त्रण र व्यथिति नियन्त्रण गर्नुपर्ने अवश्यकता रहेको बताए।
उनले भने, ‘जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्तीलाई नियन्त्रण गर्ने, त्यो सास्तीबाट मुक्त हुने आवश्यकतालाई इंगित गरेर मैले निर्णय गरेको छु।’
जनताका पिर मर्कालाई सम्बोधन गर्न कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। अन्नपूर्ण पोस्ट बाट सभार
