
स्पेनको क्लव कासेरेन्यो सिपीसँगको मैत्रीपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको हो। यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुई मैत्रीपूर्ण खेलमध्ये दुवैमा सुखद नतिजा निकालेको छ।

कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले १÷१ गोल गरे। ४१ औं मिनेटमा काठमाडौं ११ का गोलकिपर विशाल श्रेष्ठको गल्तीका फाइदा उठाउँदै अल्भारोले पहिलो हाफमा अग्रता दिलाएका थिए।

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाडौं ११ विरुद्ध स्पेनिस टोलीका डेभिडले ८२ औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाएका थिए। त्यसको ४ मिनेटपछि जर्ज प्रिन्स कार्की एक गोल फर्काउँदै अन्तर घटाए पनि बाँकी समयमा थप गोल हुन सकेन र भ्रमणकारी टोलीले जित निकाल्न सक्यो।
यसअघि कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी–११ सँग खेलेको थियो। उक्त खेलमा कासेरेन्योले गण्डकी ११ माथि ३–० को जित निकाल्दै पहिलो मैत्रीपूर्ण खेलमा सुखद् नतिजा निकालेको थियो।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो। स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउण्डेशनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो। थाहा खबर बाट सभार
