सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिनहुँ किन डाउन हुन्छ पासपोर्टको अनलाइन आवेदन दिने वेबसाइट ?

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि अनलाइन आवेदन लिन सञ्चालन गरिएको वेबसाइट दिनहुँ डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् । राहदानीको लागि बायोमेट्रिकको मिति अनलाइनबाट बुक गर्न सकिने गरी राहदानी विभागले यो वेबसाइट सञ्चालन गरिरहेको छ ।

वेबसाइटबाट आफ्नो नजिकको इनरोलमेन्ट सेन्टरमा राहदानीका लागि आवेदन बुझाउनसक्ने व्यवस्था ल्याइए पनि दिनहुँ सर्भर समस्या आउँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको हो । काठमाडौंस्थित राहदानी विभागमा बायोमेट्रिक डेट लिन चाहने सर्वसाधारण यो समस्याबाट धेरै पीडित भएका छन् ।

विभागले विहान ११ बजेदेखि अनलाइन आवेदनको समय खुलाउने गरेपनि सो समयमा वेबसाइट नै डाउन हुने गरेको छ । एक दिनमा दुई हजारको आवेदन लिने गरी विभागले कोटा प्रणाली तोकेको छ । तर विहान साढे १० देखि नै वेबसाइट नचल्ने सेवाग्राहीहरुको गुनासो छ ।

World Link Ads
Mahakali Polytechnic

यो समस्या पछिल्लो एक महिनामा अझ बढी देखिएको विभागकै अधिकारीहरू स्वीकार्छन् ।

वेबसाइट नचल्दा अन्य जिल्लाका इन्रोलमेन्ट सेन्टरका लागि पनि अनलाइन आवेदन दिन सकिने अवस्था छैन । राहदानी विभागले जिल्लाबाटै राहदानी लिन आग्रह गरेपनि वेबसाइट नचल्ने, निश्चित बारहरूमा मात्र अनलाइन आवेदन दिन मिल्ने, आवेदन दिन पाइए पनि राहदानी प्राप्त गर्न थप समय लाग्ने लगायतका कारण सेवाग्राहीहरू काठमाडौं आउने गरेका छन् ।

Sana Kishan

विभागले भने सर्भर क्षमता कम भएका कारण माग अनुसारको सेवा दिन नसकेको र साइटमा पनि समस्या आइरहेको बताउँछ । विभागकी प्रवक्ता दुरपदा सापकोटाले एक महिनादेखि अनलाइन व्यवस्थामा समस्या आइरहेको स्वीकार्दै यसका लागि पहल भइरहेको, तर काम अगाडि बढ्न नसकेको बताउँछिन् ।

“हामीले सुरुमा यो प्रणालीका लागि जडान गरेको क्षमता अहिले अपुग भइरहेको छ,“ टेकपानासँग उनले भनिन, “हाल एक दिनमा दुई हजार जनाले आवेदन दिनसक्ने व्यवस्था छ । तर ट्राफिक (प्रयोगकर्ता) भने निकै बढी हुन्छ । यसले गर्दा हामीलाई काम गर्न गाह्रो भइरहेको छ ।“

११ बजे साइट खुल्ने समयमा नै धेरै जनाले प्रयास गर्ने भएकोले वेबसाइटमा ट्राफिक बढेको र प्रणालीले थाम्न नसकेको उनको भनाइ छ । यसको समाधानको लागि प्रणालीको क्षमता बढाउने विषयमा विभाग जानकार भएपनि सरकारी प्रक्रियाकै कारण काम हुन नसकेको उनी बताउँछिन् ।

’’सरकारी प्रक्रिया अनुसार पुनः खरिद प्रक्रियामा गएर सेवाप्रदायक छनोट गरी प्रणालीको क्षमता बढाउनुपर्ने हुँदा यो कामले समय लिने देखिन्छ,’’ उनी भन्छिन् ।

दीर्घकालीन समाधानको लागि समय लाग्ने हुँदा अल्पकालीन समाधानको रुपमा सेवाग्राहीहरूले नै बुझेर अत्यावश्यकबाहेक आफ्नै जिल्लाबाट राहदानीको काम गर्न उपयुक्त हुने उनको सुझाव छ । “धेरै सेवाग्राहीहरू अत्यावश्यक नभए पनि छिट्टै राहदानी पाइने आशामा काठमाडौं आउँछन् । यसो नगर्नका लागि हामी बारम्बार सेवाग्राहीलाई पनि आग्रह गरिरहेका छौं,“ उनले भनिन् ।

अर्कोतर्फ एक दुई दिनमै बायोमेट्रिक डेट लिइदिने भन्दै विचौलियाहरूले सेवाग्राहीहरूबाट पैसा असुलिरहेका घटना पनि सार्वजनिक भइरहेका छन् । यसबारे विभाग जानकार भएपनि कुनै कदम चाल्न सकेको छैन । टेकपाना बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.